back
CTIZAN AD

पृथ्वीनारायण शाह मुडि र रिसाहा पनि थिए

वि.सं.२०७७ पुस २७ सोमवार

2.8K 

shares

उनले कीर्तिपुरमा धेरै जनताको नाक काटे पनि भनिएको छ । जे भए पनि उनी क्रुर थिए होलान् यो आलोच्य पक्ष हुन सक्छ तर उनले अलग–अलग राज्य भएका राजा रजौटाहरूलाई एकीकरण गरेर नेपाली पहिचानको राष्ट्र निर्माण गरेको कुरा चाँहि प्रगतिशील कदम नै हो ।

नेपाली सभ्यताको विकास र नेपालमा राष्ट्रिय जागरण नेपाल राष्ट्र सिर्जनामा राजा पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान छ । यिनी वि.सं. १६२३ मा जन्मिएका थिए । नेपाली राष्ट्रियताको जागरणको पहिलो शुरुवात किराँत वंशका यलम्बरले गरेका थिए भने दोस्रो शुरुवात लिच्छवी वंशका मानदेव र अंशुवर्माले गरका थिए । राष्ट्रियताको जागरण र विखण्डित जनपदहरूलाई एकीकरण गर्ने र राष्ट्रियताको तेस्रो जागरण राजा पृथ्वीनारायण शाहले गरेका थिए । मल्ल वंशबाट विखण्डित राष्ट्रलाई सवल र एकत्रित गर्ने कामको थालनी यिनले गरे । यिनी द्रव्यशाहका सन्तान थिए । द्रव्यशाहले १५५९–१५७० सम्म गोरखाको शासन गरेका थिए । पृथ्वीनारायण शाहले वि.सं. १७४३ मा शासनमा लिएका थिए ।

राजा पृथ्वीनारायण शाहले त्यसबेलाको चेतना अनुसार नेपाली सभ्यताको र एकीकरणको प्रयास गरेका थिए । स्व.पुष्पलालले पृथ्वीनारायण शाहको राष्ट्रिय जागरण र एकीकरण प्रयासलाई प्रगतिशील कदम भनी लेख्नु भएको छ । उनको व्याख्या गर्दा उनले जीवनमा गरेका निम्न अङ्गलाई बुझ्नु पर्दछ–
१. प्रारम्भिक जीवन
२. नेपालको एकीकरण
३. मृत्यु र उनको कानुनी ग्राह्यता
४. राजकीय व्यक्तित्व
५. दिव्य उपदेश
६. उनको विदेश सम्बन्ध

१. प्रारम्भिक जीवनः
यिनी नरभूपाल शाहका र कौशल्यावतीका पुत्र थिए । यिनको हेरचाह चन्द्र प्रभावती जेठी आमाले गरेकी थिइन् । नरभूपाल शाह धार्मिक भएका र खाली प्रार्थना सभामा धेरैजसो आफ्नो जीवन व्यतित गर्ने भएकाले यिनले सानै उमरेदेखि नै राजकाज हेर्थे । यिनको सपना एउटा विशाल राष्ट्र सृजना गर्ने थियो ।

२. नेपालको एकीकरणः
जब यिनी गद्दीमा बसे । यिनको नजिकका सेनामा कालु पाण्डे र सल्लाहकार समुहमा विशे नगर्ची प्रमुख थिए । यिनले “नेपाल” राष्ट्र सिर्जना गर्ने तेस्रो अभियान चलाए । काठमाडौं उपत्यकाका अलवा गण्डक र लुम्विनी क्षेत्रमा चौविस साना–ठूला जनपद थिए र तिनका प्रमुखलाई राजा भनिन्थ्यो । कर्णाली क्षेत्रमा २२ वटा जनपद थिए । त्यसअघि बुद्धको सभ्यता र वैदिक युगमा गङ्गा नदीसम्म भएका जनपदहरू यहाँ उल्लेख गरिएको छैन । सुगौली सन्धिपछि खुम्चिएको नेपाल त्यसमा पनि शासकको मात्र नेपालमा इतिहास लेखिएको छ । यिनले काठमाडौं उपत्यकाका ३ शासक बीचमा भएको अन्तरविरोध पत्ता लगाए र भादगाउँसँग मैत्री सम्बन्ध राखे । त्यसपछि नुवाकोटमा पटक–पटक आक्रमण गरेर नुवाकोट कब्जा गरे । यिनको पहिलो विवाह मकवानपुरकी राजकुमारीसँग भएको थियो । जो हेमकर्ण सेनकी छोरी थिइन् । विवाह गरेर बीचमा ससुरालीसँग पनि यिनको सम्बन्ध राम्रो भएन । पृथ्वीनारायण शाह रिसाहा थिए र मकवानपुरका सिपाहीले जुत्ता नफुकाली सलाम गरेको भनी यिनले खड्ग प्रहार गरी मारे र श्रीमती इन्द्रकुमारीलाई ल्याउन पाएनन् । हेमकर्ण सेनले आफ्ना छोरा दिग्वधन सेनलाई शान्त नपारेको भए त्यहाँ कोही पनि मर्न सक्थ्यो ।

मकवानपुरबाट फर्केपछि नुवाकोट आक्रमण गरेर हारे । यसरी जताततै ठेस लागेपछि यिनी काँसी गए र गोत्र परिवर्तन गरे । कालु पाण्डे उनका असल अनुयायी थिए उनको रेखदेखमा राज्य छोडी उनी काँसी गएका थिए । काँसीमा आफ्ना ससुरा र एकजना साधुको सहयोगमा प्रशस्त हात हतियारको वन्दोवस्त गरेर अरु हात हतियार बनाउन त्यहाँका मुस्लिम चुरौटाहरूसँग पनि गए र केहीलाई लिएरै आए । तिनै साधुको सहयोगमा यिनले दोस्रो विवाह पनि गरे । ती साधुलाई धैवुङमा ल्याएर राखे र बिर्ता पनि दिए । त्यहाँ यिनै साधुको सहायताले रामचन्द्रको मन्दिर स्थापना गरे । हतियार लिएर आउँदा मुगल सम्राटका सिपाहीले रोके र एक वैरागी साधुका सहायताले ती सिपाही माथि आक्रमण गरी जीते र हतियार लिएर आए । काँसीबाट फर्किएपछि पूरा नुवाकोट आक्रमण गरेर जीते त्यसपछि लम्जुङ आक्रमण गरे लम्जुङ लिएपछि कास्कीको राजालाई आत्मसमर्पण गराए । सन् १७६२ को अगस्तमा १० घण्टाको लडाईंमा मकवानपुर कब्जा गरे ।

नुवाकोट विजयपछि चन्द्रागिरी भन्ज्याङ कब्जा गरेर उत्तर सिन्धुपलान्चोक समेतबाट घेराउ गरे । काठमाडौंका राजा जयप्रकाश मल्लले त्यसबेलाको व्रिटिस भारतसँग सहायता मागे । व्रिटिस भारतको सेना सिन्धुलीगढीमा आईपुगे । त्यसबेला गोरखा सेनाले लुकेर गुरिल्ला आक्रमण गरे । अरिंगालको गोलामा ढुङ्गा हाने । व्रिटिस आर्मीले अरिंगाल चिनेका थिएनन् । अरिंगालले आर्मीलाई चिल्यो, बाटोमा सिस्नुले पोल्यो । सेना ‘झिँगै वैरी, झारै वैरी’ भनेर त्यतैबाट फर्के । त्यहाँबाट व्रिटिस सेनाले हतियार छोडेर भागेपछि गोरखा सेनाले ठूलो परिणाममा आधुनिक हात हतियार पायो । यसले पृथ्वीनारायण शाहको सेनालाई नैतिक बल मिल्यो र काठमाडौंका राजालाई नर्भस बनायो । त्यसबेलाका काठमाडौंका राजा जयप्रकाश मल्ल थिए । पृथ्वीनारायणले जयप्रकाशका असन्तुष्ट भारदारलाई साथ लिए । २५ सेप्टेम्बर १७६८ मा जनताले ईन्द्रजात्रा मनाईरहेको अवस्था पारेर काठमाडौं कब्जा गरे । पृथ्वीनारायण शाहलाई केहीले क्रुर पनि भनेका छन् । उनले कीर्तिपुरमा धेरै जनताको नाक काटे पनि भनिएको छ । जे भए पनि उनी क्रुर थिए होलान् यो आलोच्य पक्ष हुन सक्छ तर उनले अलग–अलग राज्य भएका राजा रजौटाहरूलाई एकीकरण गरेर नेपाली पहिचानको राष्ट्र निर्माण गरेको कुरा चाँहि प्रगतिशील कदम नै हो ।

३. मृत्युः
यिनको मृत्यु १७७५ वि.सं. मा भयो । यिनको मृत्युका बारेमा पनि थरीथरीका भनाइहरू छन् । कसैले यिनलाई विष हालेर मारियो भनेका छन् भने कसैबाट सर्वसाधारण हिसावले विरामी परेर यिनको मृत्यु भयो भनिएको छ । जे होस् यिनको जीवनकाल हेर्दा त्यसबेला जब पृथ्वीनारायण शाहले नेपालका वाईसे–चौविसे राज्यमा विघटन भएको नेपाललाई राष्ट्रिय जागरणको माध्यमबाट एकीकरण गर्दा गर्दै ५२ वर्षको उमेरमा यिनको मृत्यु भएको कुरा विभिन्न इतिहासकारले व्यक्त गरेका छन् ।

४. राजकीय व्यक्तित्व  :
त्यसबेला काठमाडौं उपत्यका, मकवानपुर र नुवाकोट विजय गरेर केन्द्रीय राष्ट्र सिर्जना गरेपछि यिनको व्यक्तित्व भारतीय जनपदहरूमा र चीनमा पनि प्रचार भयो । त्यसैले मूल कुरा सिन्धुलीगढीमा अङ्ग्रेज सेनापति कप्तान किनलोकले नेतृत्व गरेको आधुनिक हतियारले लेस सेनालाई अरिंगाल र सिस्नोको सहायताले हराएपछि यिनको व्यक्तित्व व्रिटिस र व्रिटिस मार्फत युरोपमा पनि चम्कियो । यिनले जहाँ–जहाँ जिते त्यहाँ–त्यहाँको जनताको संस्कृतिलाई सम्मान गरे । जस्तैः काठमाडौंको नेवार सम्प्रदायका चाडवाड लगायत नेवारी संस्कृतिलाई यिनले मान्यता दिए । यसरी यिनी जितेको ठाउँका जनतामा पनि जनप्रिय भए । यिनले भारतीय जनपदका बाँकी राजा रजौटासँग सम्बन्ध गाँसे । चीनका वादशाहसँग पत्र पठाएर जितेको र पछि गठन भएको नेपाललाई मान्यता दिन आग्रह गरे र चीनबाट पनि मान्यता प्राप्त भयो । यिनको साम्राज्यवाद विरोधी विचार भने स्पष्ट थियो । यिनले तत्कालीन अङ्ग्रेजको कलकत्ताको कम्पनी सरकारसँग भने सम्बन्ध गाँसेनन् बरु पञ्जावका राजा रणजीत सिंहलाई पत्र पठाएर सम्बन्ध सुधार गर्ने र अङ्ग्रेजका विरुद्ध लड्ने विचार नै व्यक्त गरे । सामन्तवादको सङ्गठित स्वरूप राजा भए पनि यिनी साम्राज्यवादका भने कट्टर विरोधी थिए । यसरी यिनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याती आर्जन गरी आफ्नो राजकीय व्यक्तित्व निर्माण र विकास गरेका थिए । यद्यपि यिनका नकारात्मक व्यक्तित्वको बारेमा पनि इतिहासविदहरूले चर्चा नगरेका होइनन् ।

पृथ्वीनारायण मुडि पनि थिए भन्ने कुरा त मकवानपुर ससुराली गएको बेलामा त्यहाँको सिपाहीले सलाम नगरेको झोकमा सिपाहीको हत्या गरेको कुरा उल्लेख छ । त्यस्तै कीर्तिपुरमा हारेका मल्ल शासनका सेनाको नाक काटेको कुरा पनि चर्चामा छ । तर यिनले जितेका ठाउँमा र सम्भावित लडाईँलाई टार्दै सम्झौता पनि गरेका छन् । जितेका ठाउँको संस्कृति मान्नु र लडाईँ नगरी लिम्बुवानको शासकसँग वार्ताद्वारा राष्ट्र एकीकरण गर्न सक्नु यिनको राजकीय व्यक्तित्वको राम्रो पाटो हो ।

५. दिव्योपदेशः
पृथ्वीनारायण शाहलाई पूँजीनिर्माण र आर्थिक उन्नतिको बढाउने व्यक्तिको रूपमा विशे नगर्चीबाट पनि लिइन्छ । उनले आफ्नो दिव्योपदेशमा उत्पादन व्यापक बढाउने, किसानलाई सहुलियत दिने, राज्यको उचित र पारदर्शी कर प्रणाली लागु गर्ने, न्याय सबैले पाउन् भन्ने भावना, सरकारी अधिकारीको जनपक्षीय आचरण हुनुपर्ने जस्ता उनका चर्चित अनुशासन र नियम जुन उनको दिव्योपदेशका नामले चिनिन्छ । “नेपाल २ ढुङ्गाको तरुल हो” यी छिमेकीसँग राम्रो सम्बन्ध कायम गरे हाम्रो तरुल फस्टाउँछ भन्ने यिनको मान्यता थियो । वरु चीन र भारतका केही राजाहरूसँग मिलेर गोराहरू (व्रिटिस) लाई धपाउनु पर्ने यिनको मान्यता थियो । राज्य एकीकरणको अभियानमै यिनको उमेरमै मृत्यु भयो ।

६. विदेश सम्बन्धः
उनको दिव्योपदेशमै विदेश सम्बन्धका बारेमा व्याख्या गरि सकिएको छ । नेपालको र नेपाली सभ्यताको वैदिक युगको सिमाना कायम गर्न यिनी तल्लिन थिए । चाँडै यिनको मृत्यु भयो । यिनका मन्त्री कालु पाण्डे, सेनाहरू दामोदर पाण्डे, अमरसिंह थापा र यिनका कान्छा छोरा वहादुर शाहले पछि नेपाली राष्ट्रिय जागरणको नेतृत्व गरे । यिनले चीनका वादशाह र भारतका विभिन्न रजौटासँग सम्बन्ध राम्रो बनाएका थिए । यिनी विशेष गरी हिन्दु धर्म ग्रहण गरेर भए पनि बुद्धका पनि अनुयायी भएकाले चीनसँग सम्बन्ध विकासमा सहयोग पुगेको थियो । अङ्ग्रेजसँग भने लड्नै पर्ने मान्यता यिनको थियो । यिनको कालमै फ्रान्समा राज्य क्रान्तिको लहर चलेको थियो । अङ्ग्रेजसँग भन्दा फ्रान्ससँग सम्बन्ध गाँस्नु पर्दछ भन्ने यिनको मान्यता थियो । एकीकरण अभियान वाँकी रहेका जनपदहरूसँग पनि यिनले राम्रै कुटनैतिक सम्बन्ध कायम गरेका थिए । आफ्ना छिमेकीसँग राम्रो सम्बन्ध कायम गरी भाईचारा सम्बन्ध गाँस्न यिनी माहिर थिए । जे होस् नेपाली राष्ट्रियता र सभ्यताको इतिहासमा नेपाली संस्कृति र आर्यसभ्यता जोगाउने श्रष्टामा नाम लिँदा यिनको नाम अनिवार्य रूपले लिनुपर्ने हुन्छ ।

वि.सं.२०७७ पुस २७ सोमवार ०९:१८ मा प्रकाशित

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

हरेक वर्ष ज्येष्ठ १५ गतेको सुनौलो बिहानीसँगै नेपाली जनताको स्मृतिमा...

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...