२९ पौष, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को मापदण्ड परिवर्तन गर्ने भएको छ ।
सरकारले हाल भइरहेको मापदण्डलाई परिवर्तन गरी एक सय पूर्णाङ्क मानेर ६० ल्याउनेलाई पास गर्ने व्यवस्था अघि बढाएको हो । लाइसेन्स लिनको लागि विभिन्न समस्या झेल्दै आएको सर्वसाधारणहरूको सहजताका लागि उक्त व्यवस्था ल्याउन लागेको हो ।
हाल ट्रायल परीक्षामा कुनै एक गल्तीकै कारण फेल र बर्षैसम्म लाइसेन्सविहिन हुनुपर्ने अवस्था रहेको छ । अब नयाँ मापदण्ड अनुसार प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभार दिएर पूर्णाङ्क (फुलमार्क) गरिने भएको छ । यो व्यवस्था लागू भए ट्रायल परिक्षामा ६० अंक ल्याए पास हुने छ ।
यो व्यवस्थाका लागि विभिन्न निकायसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल गरिरहेको छ । विभागले विगतदेखि नै लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा व्यवहारिक नभएको बताउँदै आएको थियो।
हाल लाइसेन्स लिन चाहनेले कार्यालयको वेबसाइटमा गएर फारम भर्नुपर्ने, कार्यालयले तोकेको मितिमा लिखित परीक्षा दिनुपर्ने र लिखित पास भएपछि प्रयोगात्मक परीक्षा दिनुपर्छ । उक्त प्रक्रिया झन्झटिलो भएको भन्दै नयाँ मान्यता अनुसार सवारी लाईसेन्सलाई प्रभावकारी बनाउने योजना छ ।
हालको मापदण्डअनुसार सवारी लाइसेन्स पाउने व्यवस्था कडा र जायज नभएकै कारण प्राय फेल हुने र बढी भीडभाड हुने गरेको आरोप लाग्ने गरेको छ । नयाँ मापदण्ड फागुन अथवा चैतदेखि लागू गर्ने तयारी रहेको विभागले जनाएको छ ।
वि.सं.२०७७ पुस २९ बुधवार १४:२१ मा प्रकाशित






























