back
CTIZAN AD

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’

वि.सं.२०७७ माघ ६ मंगलवार

1.3K 

shares

६ माघ, काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको शान्तिधाम धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास हुँदै गएको छ ।

विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्ता भएपछि उक्त परिसरमा बद्रिनारायणको मन्दिर निर्माण भएसँगै धार्मिक पर्यटक बढ्न थालेका हुन् ।

विसं २०७३ को निर्जला एकादशीमा शिलान्यास भई २०७५ रामनवमीमा निर्माण सम्पन्न भएको बद्रिनारायण मन्दिर दर्शनका लागि दैनिक पाँचसय भन्दा बढी दर्शनार्थी आउने गरेका छन् ।

यस्तै बिदाको दिनमा तीन हजारदेखि पाँच हजार दर्शनार्थी मन्दिर दर्शनका लागि आउने गरेका छन् । बिहान र बेलुका खुल्ने उक्त मन्दिर मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म बन्द हुँदै आएको छ ।

रु १५ करोडको लागतमा निर्माण सम्पन्न भएको बद्रिनारायणको मन्दिर द्रबिड शिखरशैलीमा निर्माण भएको हो । उक्त मन्दिर कलात्मक र सुन्दर रहेको छ ।

विभिन्न क्षेत्रमा सत्सँग धार्मिक चेतना अभिवृद्धि गर्दै आएको शान्तिधाममा हिन्दू धर्मावलम्बीका दर्शनीय धार्मिकस्थल चारधाम निर्माण गर्ने उद्देश्य राखिएको वृहद शान्तिधाम नेपालका संस्थापक मठाधीश अनन्त श्रीविभूषित स्वामी श्री चतुर्भुजाचार्य चुडामणिजी महाराजले राससलाई जानकारी दिए ।

“वार्षिक हजारौँ नेपाली अर्बौँ रकम खर्च गरेर छिमेकीमूलुक भारतका विभिन्न मठमन्दिर तथा धाम घुम्न जाने गरेका छन्, भारतमा रहेका धाम नेपालमै दर्शनको व्यवस्था मिलाउनका लागि वृहद शान्तिधाम नेपाल स्थापना गरी विभिन्न मठमन्दिर र धाम निर्माण गर्न लागेका छौँ,” उनले भने ।

अहिले बद्रिनारायण धाम निर्माण भए पनि आगामी दिनमा रामेश्वरम धाम, द्वाराकाधीश धाम र जगन्नाथ धाम निर्माण गरिने मठाधीशको भनाइ छ । शान्तिधामभित्र सम्पन्न भएको बद्रिनारायण मन्दिर विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको हो ।

कूल १०० रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद अस्पताल, वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास, क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।

नेपालमा पहिलोपटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला, वृद्धाश्रम, अनाथालय, बाचनालय, भोजनालय, साङ्गीतिक हल साथै सुन्दरमुक्ति सरोवर निर्माण गरिएको यस शान्तिधाममा अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्ने गरेको छ । त्यसबाहेक कृष्ण जन्माष्टमी र एकादशीमा समेत मेला लाग्ने गरेको छ ।

उक्त शान्तिधाममा दैनिक सय भक्तजनलाई आवास तथा भोजन गर्नसक्ने क्षमता छ । शान्तिधाम परिसरमा निर्माण गर्न लागिएको भौतिक संरचनाका लागि आर्थिक अभाव रहेको मठाधीशको भनाइ छ ।

यस्तै, शान्तिधाम पुग्न बाटो राम्रो नहुँदा समस्या परेको छ । आन्तरिक तथा बाह्य पर्यटन विकास गर्दै राज्यलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको शान्तिधाममा दाताले सहयोग गर्ने क्रम बढेको छ ।

शान्तिधाम परिसरमा बन्न लागेको भौतिक संरचना निर्माणका लागि तारकेश्वर नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाका प्रवक्ता एवं् वडा नं १ का वडाअध्यक्ष विदुर सापकोटाले शान्तिधाम क्षेत्रको विकासका लागि नगरपालिकाले प्रत्येक वर्ष सहयोग गर्दै आएको बताए ।

धार्मिक पर्यटनको विकास हुने भएकाले नगरपालिकाले उक्त क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो । शान्तिधाम काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट ७ किलोमिटर दूरीमा पर्दछ ।
रासस

वि.सं.२०७७ माघ ६ मंगलवार १५:४६ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...