back

मन नदुखाउ मेरी आमा मैले सुन कमाउन सकिन्

वि.सं.२०७३ माघ १२ बुधवार

1K 

shares

 chandaआमा, सायद यो समय अनि परिस्थितिले मलाई सुन लगाउन भनेकै थिएन्, तिम्रै अनि समाजको भनाइमा सुन लगाउने मेरो भाग्यमा नै थिएन्, अझै घर गरेर खाने त झन भाग्यमा नै लेखेको रहेनछ । यहि भन्थ्यो समाजले अनि आज पनि यहि भन्छ मलाई ।

हो, सुन लगाउने, डोलीमा चढेर जाने, पन्चे बजाको धुन र सनाइको धुनसँगै रातो सारीमा सजिएर अनि तिमी र सारा परिवारलाई रुवाउँदै डोलीमा चढेर जाने अनि घर माइत गर्ने रहर र सपना मेरा मनमा पनि नआएको होइन्, बाल्यकालमा । अनगिन्ती सपनाहरुमा रमाउथ्यो मेरो मन । मलाई हाम्रो घर नजिकैको दिदी बिजुला जस्तै रातो सारीमा सजिएर अरुको घरमा जाने कम्ता रहर थिएन बालापनमा ।

विजुला दिदीको जोडीजस्तै बेहुला बेहुलीको काँधमा जुवा हालेर नेपाली परम्परा अनुसार माटोले नुहाउने, बाटोमा चौतारीमा बसेर बेहुला बेहुलीले रोटी चिउरा बाँडेर खाने, उनको घरमा पुगेर घरको दैलो पोत्ने, भएभरका उनका आफन्तलाई शिर नुहाएर ढोग्ने र मान सम्मान गर्ने रहर कम्ता हुटहुटी चल्थेन मेरी आमा त्यतिबेला ।

हो नी तिम्री आमा, (मेरी हजुरआमा) पनि दुलही बनेर आएकी थिइन् मावली घरमा । अनि तिमी पनि दुलही बनेर आएकी थियौं बाबाको घरमा । परम्परा अनुसार मैले पनि त तिम्रो काख छोडेर पराइ घर जानु थियो नि होइन र आमा । जन्मेको घर, जन्मदिने आमा, बाबा र मलाई ताते गरेर हुर्काउने मेरो सबै परिवारलाई छोडेर म दोश्रो घर, कर्म घर जानु थियो ।
समयको माग थियो वा परम्परा । छोरीले कर्म घरै जानैपर्छ भन्ने । म पनि दुलही बनेरै घर गएको नै हो त्यतिबेला आमा । तिमीले जसरी आफ्नो परिवार, सासु ससुरा अनि बाबालाई रिझाएकी थियौं । हो, त्यसरी नै मैले पनि रिझाउने खोजेकी थिए परिवार । तर, आमा खोइ समय र परिस्थितिलाई किन मन्जुर भएन, मलाई कर्म घर गरेर खान । त्यसैले त म कर्मघरको नाता तोडेर टाढिए कतै, एक्लिए कतै । बरालिए कतै अनि मेरो कर्तव्य के हो, यस धर्तिमा भन्ने मनन गरे । त्यसैले त म फरक छु । अनि सुन लाउने चाहना पनि ममा आएन आमा ।

हो, एकपटक सारै रहर चलेको थियो । विदेशमा ६ वर्ष बस्ने क्रममा मैले एउटा सुनको ब्रासलेट बनाएको थिए । ओमानी रियाल ७६ परेको थियो । एउटा सानौ औठी थियो त्यसको जम्मा २२ रियल परेको थियो । अनि एउटा सिक्री पनि थियो । जुन मैले कामगर्ने घरको मालिक्नीले बनाइदिएकी थिइन् । उनको घरमा काम गरेवापत उनले मलाई चिनो स्वरुप दिएकी थिइन् त्यो ।

सायद नलेखेकैले होला । ती म बाट टाढिएका थिए । परिस्थिति बस, ओमाानमै भैरहवाका गौतम थरका (पुरा नाम भुलें) काम नपाएको अवस्थामा पीडामा परेका भाइको दुःख सहन नसकेर मैले त्यो सिक्री सेकेन्ड हया्डमा २७ रियालमा बेचेर उनलाई आर्थिक सहयोग गरेकी थिए भने मोरंङकी साथीको सापट लिएको पैसा तिर्नु भएको र अचानक उनलाई घर जानु परेको कारणले म सँग तत्काल पैसा नभएकोले हातमा लगाएको ब्रासलेट दिएर ऋण चुक्ता गरेकी थिए ।

हो, आमा । मलाई सुनले साथ छोडेको हो की मैले सुनको साथ छोडेको हो, बिहेको स्वयम्बरमा उनले लगाइदिएको औठी बेचेर रेल भाडा बनाएर बिहेको केही दिनपछि उनैसँग बम्बई जानका लागि खर्च गरेक थिए । त्यतिबेला पनि सुन र स्वयम्बरको औठी भन्दा पनि रेल भाडाका लागि महत्वपूर्ण सहयोगी भएको थियो त्यो मेरो औठी । त्यसपछि उनलै बिहेमा लगाइदिएको घाटीमा रहेको सानो तिलहरी सानो बालक छोराको उपचारको लागि सहयोगी बनेको थियो । छोरा बिरामी भएर उपचार खर्च नहुँदा मुम्बइको मुरवाडको सडकमा म एक्लै पागलसरी दौडिरहेकी थिए । उनी साथमा थिएनन्, तास खेलेर बसेका उनलाई बोलाउन पठाएकी थिए साइनोमा देवर पर्नेलाई । तर, उनी नआएपछि म एक्लै सिकिस्त छोरा काँधमा राखेर दौडिएकी थिए ।

सायद संघर्ष नै लखेको थियो जीवनमा । कोही आफन्त या चिनजानको कोही नहुँदा पनि सडकमा निस्केपछि उपचार हुन्छ छोराको भनेर म दौडिएकी थिए । हो, त्यतिबेला मलाई खोइ कहाँबाट हो, सा¥है हिम्मत आएको थियो । नजिकैको कहिलै पनि नगएको र नबोलेको मारवाडीको पसलमा पुगेकी थिए म । त्यहाँ मैले उनीहरुकै अगाडि घाटीको तिलहरी चुडालेर छोराको उपचारको लागि पैसा मागेकी थिए । २०५२ सालको कुरा हो, त्यतिबेला सुन कति रुपैयाँ तोला थियो, त्यो त मलाई सम्झना भएन । तर, दुःखको बेला पराइ देशमा परदेशीहरुले गुन लगाएको सम्झना छ मलाई । त्यतिबेला मेरो तिलहरीका मूल्य उनीहरुले ४ सय आइसी गरेका थिए ।

४ सय आइसी साथमा आएपछि मलाई अर्कै हिम्मत बढेको थियो, अब मेरो छोराको उपचारमा कुनै बाधा आउँदैन् । यति भएपछि त मेरो छोरा सन्चो हुनेछ भनेर म मेडिकल तिर दौडिएकी थिए । त्यो तिलहरी मैले १५–१६ दिनपछि उनीसँग पैसा मागेर निकालेर लिएर गएकी थिए ।

त्यसरी दुःखमा साथ दिदैँ छोड्दै गएका थिए मलाई ती सुनहरुले । उनीहरु अर्कैको बन्दै गएका थिए । त्यसरी नै जीवनका नयाँ बाटोहरुमा संघर्ष गर्न मलाई सिकाएको थियो समयले ।

पछि काठमाडौंमा बस्ने क्रममा संघर्षले कमाएको हातमा एउटा औठी बाहेक मेरो अरु कुनै सुन छैन । त्यो पनि तिम्रो मनमा खुसी छावोस् भन्ने हिसावले तिम्रै जोड आग्रहलाई मान गर्न हो भन्दा फरक नपर्ला मेरी आमा ।
आमा तिमीले एकपटक भनेको सम्झना छ मलाई, “कति विरुपी बनिस् है, त केही लगाउन खोज्दीनस्, ला, यो लगा ।” तिमीले चाडपर्वमा आँखाभरी आँसु बनाउँदै कानका टप र हातको बाला निकालेर दिएकी छौैं कतिपटक । सामाजिक परम्परा धान्न भनेर मैले माइली बहिनीको बिहेमा दोश्रो नम्बरी सुनका गहना पनि लगाएकी थिए सायद तिमीलाई त्यो सम्झना पनि होला । सबैले मलाई विदेशबाट कमाएर ल्याएको सुन भनेर सह्राना पनि गरेको थिए ।

आमा मलाई आज पनि सबैले सुनका गहना लगाएको देख्दा लाग्छ, मेरी आमाले पनि मलाई यस्तै रुपमा हेर्न चाहानु भएको होला ! हेर्न खोज्नु भएको होला । छोरी झपक्क सुनका गहना लगाएर काठमाडौं र पाल्पा गरोस् । सबैले “ओ हो, फलानीली कतिधेरै गहना लगाएकी ! कति धेरै पैसा कमाएकी होला ? काठमाडौंमा घर घडेरी पनि किनेकी छ होला, अब घर बनाउँछे होला । तर, आमा मलाई माफ गर । छोरी भएर यो धर्तिमा जन्मेको र यहि समाजमा संघर्ष गरेकी तिम्री छोरीले, केही गहनाहरु बटुलेकी छे । त्यो हो, सभ्यताको संस्कृतिमा, दयाको पक्षमा, मानवियताको ऐक्यबद्धतामा अनि अन्यायमा आवाज उठाउने आत्मसन्तुष्टिको गहना । त्यतिबाहेक तिमीलाइ साच्चै भन्नु पर्दा म सँग बिरामी परेर औषधि उपचार गर्न पनि एकपैसा बैंक ब्यालेन्स पनि छैन । अहिलेसम्म मैले त्यो आवस्यक पनि ठानेकी छैन र परेको पनि छैन ।

हो, मेरो अहम होला यो अनि घमण्ड होला । समाजको नजरमा म आडम्बरी पनि हुम्ला । तर, आमा म यति सन्तुष्ट छु की आत्मादेखि, मैले मानिस हुनुको भूमिका पूरा गर्ने प्रयत्न गरेकी छु भन्ने लाग्छ यो धर्तिमा । धेरै दुःख र पीडामा रहेकाहरुको साथी बन्ने अभ्यासमा लागेकी छु अनि सारथी बन्ने प्रयासमा छु जस्तो लाग्छ । सबैमा आफ्नो सभ्यता, माया ममता अनि सकारात्मक सोच बाँडेकी छु जस्तो लाग्छ । त्यो नेपाली सभ्यता, दया, माया परिवारमा मात्रै नभएर सिंगो समाज अनि देशमा बाड्न खोजेकी जस्तो लाग्छ मलाई ।

हो,आमा मलाइ थाहा पनि छ, तिमीले भनेजस्तो अरुलाई पर्दा म जसरी लाग्छु मलाई पर्दा कोही लाग्दैनन्  । तर, किन हो  मलाई सेवाको सुन नै कमाउन मन लाग्छ । मानब भएर यो धर्तिमा जन्मेको अर्थ यसरी लगाउन मन लाग्छ की, आफ्ना लागि सबै बाँच्छन् । तर, अरुका लागि कमै बाँच्छन र कमै बाच्न खोज्छन, अनि बाँच्न चाहान्छन ।

हो म, यो देशकी त्यहि छोरी हुँ, जसले अरुको सेवा नै सुन मानेर जीवन जीउन सिकी रहेकीछु । जहाँ मर्ने बेलामा अनि अकालमै मर्नु परेपनि मेरो आत्मासन्तुष्टि हुनेछ, मैले त्यो सुन कमाए, त्यो सुन लगाए, त्यो सुन साँचे, जुन सुन कमैले कमाउँछन । त्यसैले आमा पिर नमान मैले सुन कमाउन सकिन् भनेर । गर्व गर मेरी आमा, यो संस्कारको मुना तिम्रै रगतबाट पलाएको हो ।

आमा, समृद्ध र स्वाधीनता सहितको सुन्दर नेपाल जसलाई मैले सम्पूर्ण नेपाली छोरीको सपनाको अकबरी सुन बनोस् भन्ने चाहान्छु ।

वि.सं.२०७३ माघ १२ बुधवार १४:२८ मा प्रकाशित

Himalayan Life AD