२६ माघ, काठमाडौं । घुम्न गएका बेला फुलचोकी डाँडामा हराएका दुई युवाको सकुशल उद्धार गरिएको छ ।
गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी डाँडामा हराइरहेका सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भइ हाल काठमाडौंको कलंकीमा बस्ने २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका–३ का १९ वर्षीय सुरेश केसीलाई प्रहरीले सकुशल उद्दार गरेको हो ।
उक्त जंगलमा घुम्न गएका उनीहरु हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा आइतबार उनीहरुको उद्दार गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
जाडो याममा हिउँ पर्ने कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुने र बाटो बिराइ मानिसहरु हराउन गई मृत्यु समेत हुने गरेको बिगतको घटनाहरुलाई मध्यनजर गरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट गएको प्रहरी टोलीले पर्यटकहरुको व्यवस्थापन गरेको बताइएको छ ।
फुल्चोकी प्रवेशको मुख्य नाका गोदावरी बसपार्क नजिकै जाँच, पर्यटक बिबरण ईन्ट्री, काउन्सिलिङ लगायत सचेतनामूलक बोर्डहरु राख्नुका साथै सुरक्षित रुपमा आन्तरिक पर्यटक तथा स्थानिय बासिन्दा गरी उक्त दिनमासमेत ५ सय जनालाई फुलचोकी घुम्न पठाएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
वि.सं.२०७७ माघ २६ सोमवार १४:२२ मा प्रकाशित






























