माघ २९, काठमाडौं । प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो ।
झाँक्रीलाई थमाइएको पक्राउ पुँर्जीमा राज्यविरुद्वको कसूरअन्तर्गत पक्राउ गरिएको उल्लेख छ । प्रहरीले उनीमाथि अपराध संहितको दफा ५८ अनुसार राज्यविरुद्धको कसूरअन्तर्गत अनुसन्धान गर्दै छ । उक्त दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नपाईने उल्लेख छ ।
कसूर प्रमाणित भए के हुन्छ कारबाही ?
मुलुकी संहितासम्बन्धी ऐनको धारा ५८ अनुसार झाँक्रीमाथि अनुसन्धान हुनेछ । उक्त दफामा राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादनबाट रोक लगाउन खोजे वा कुनै किसिमकको धम्की दिन, डर वा त्रास देखाउन नपाईने उल्लेख छ ।
५८ को उपदाफ २ मा त्यस्तो कसूर प्रमाणि तभएको खण्डमा त्यस्तो व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । साथै दुवै सजायँसमेत हुनसक्ने उल्लेख छ ।
गलत संस्कारको उत्पादन विद्या भण्डारी भएको टिप्पणी झाँक्रीले गरेकी थिइन्
केहि साता अघि गोरखामा भएको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भन्दै सेतो सारी लगाएर चुनावमा आउन भनेकी थिइन् । उनले मदन भण्डारीको हत्यापछि सेतो सारीलाई ल्याएर एमालेले शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको र त्यसैको प्रत्युत्पादन विद्या भण्डारी भएको टिप्पणी गरेकी थिइन् ।
उनले भनेकी थिइन्,‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु ! निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’
झाँक्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै ओली पक्षीय महिला संघले पक्राउ गरि कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको थियो । झाँक्रीले राष्ट्रपति भण्डारीको चरित्रहत्या गरेको उनीहरुको भनाई छ ।
जससँगै प्रहरीले उनीमाथि उच्च निगरानी बढाएको थियो । बुधबार प्रचण्ड–नेपाल समूहले गरेको शक्ति प्रदर्शनमा पनि उनी मुखमा कालो टेप लगाएर प्रस्तुत भएकी थिइन् । उनले राष्ट्रपतिलाई प्रधानमन्त्रीको सहयोगी भएको टिप्पणी गरेकी थिइन् ।
सम्बन्धित समाचार
राज्यविरुद्वकाे कसुर गरेकाे अभियाेगमा नेतृ रामकुमारी झाँक्री पक्राउ
वि.सं.२०७७ माघ २९ बिहीवार १४:०९ मा प्रकाशित






























