फागुन ६,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भनाईलाई अदालतको अवहेलनाको विषयमा बनाउन नमिल्ने जिकिर गरेका छन् । बिहिबार अदालतको अवहेलना मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च अदालत पुगेका ओलीले यस्तो बताएका हुन् ।
उनले आफुँमाथि लगाइएको मुद्दा अनुचित र खारेज योग्य भएको पनि जवाफ दिएका छन् ।
‘मलाई विपक्षी बनाई दायर भएका मुद्दामा लिखित जवाफ प्रस्तुतकर्ताले मैले मुद्दा जित्छु, मेले मुद्दा जिले आधार यस्ता छन् भन्न नपाउने हुँदैन, यो स्वाभाविक मानिन्छ, मुद्दामा बहस गर्ने विद्वान कानून व्यवसायीबाट समेत सोही आत्मविश्वासका साथ बहस हुने हो, त्यसैले कुनै मुद्दाको पक्षले मुद्दाको सम्बन्धमा व्यक्त गरेको कुरालाई अदालतको अवहेलनाको विषय बनाउन मिल्दैन’, प्रधानमन्त्रीले दिएको जवाफमा भनिएको छ, ‘मैले कुनै खास कानुन व्यवसायीको नाम लिएर न कुनै वक्तव्य दिएको छु नत कुनै कानुन व्यवसायीलाई बहस नगर्न वा न्याय सम्पादनमा अवरोध गरेको छु, मैले जहिले पनि आदरार्थी भाषाको प्रयोग गरेको छु, प्रस्तुत मुद्दाको कुनै प्रयोजन नदेखिँदा मबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी छ ।’
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको र संवैधानिक इजलासमा चलिरहेको प्रतिनिधि सभा विघटनसम्बन्धी बहसलाई ‘तमासा’ भनेपछि प्रधानमन्त्रीविरुद्व अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो । उनको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए ।
ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
यस्तो छ उनले बुझाएको जवाफमा
सम्बन्धित समाचार
अवहेलना मुद्दा : लिखित जवाफ बोकेर सर्वोच्च पुगे प्रधानमन्त्री ओली
वि.सं.२०७७ फागुन ६ बिहीवार १३:०७ मा प्रकाशित






























