फागुन ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले जतिबेला जेसुकै पनि हुनसक्ने भन्दै तयारी अवस्थामा बस्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय समितिको आकस्मिक बैठक राख्दै पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले यस्तो निर्देशन दिएका हुन् ।
‘अहिलेको राजनीतिक परिस्थिति अत्यन्तै तरल छ, यो जुनसुकै बेला जस्तोसुकै निर्णय निर्णय लिनुपर्ने हुन्छ, तपाईंहरु तयारी अवस्थामा रहनुहोला’, दुवै अध्यक्षको भनाई उद्धत गर्दै एक केन्द्रीय भने, ‘सकेसम्म राजधानीमा रहन पनि भनिएको छ ।’
झण्डै साढे दुई घण्टासम्म चलेको बैठकमा दुवै अध्यक्ष समसामयिक राजनीतिक घटनाक्रम र नेताहरुको भूमिकाका बारे बोलेका थिए ।
बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थितिलाई आफ्नो पक्षमा पार्न जस्तोसुकै कदम चाल्नसक्ने स्थिति रहेको बताएका थिए । आफ्नो पक्षमा नेताहरु देखाउन पनि अनेकन प्रलोभन दिईरहेको भन्दै सचेत रहन नेताहरुको निर्देशन थियो ।
प्रचण्ड–नेपाल समूहले शुक्रबार सबै केन्द्रीय सदस्यहरुको नागरिकता पनि संकलन गरेको छ । समूहले बिहिबार सबै सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन निर्देशन गरेको थियो ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार १७:५० मा प्रकाशित






























