आज गुन्द्रुक अनि गुन्द्रुकसित जोडिएको अरे कथाहरू लिएर यहाँ लेख्नु बसेको छु । अब गुन्द्रुक हाम्रो जातीय तरकारी भनौं कि सब्जी आखिर गुन्द्रुकको आफ्नो अस्तित्व छ ।
गुन्द्रुक नदेखेको कोही छैन जस्तो लाग्छ । यदि कतै छन भने उसले आफ्नो अस्तित्व आजको बगमफुसे सभ्यतामा कतै बन्धक राखेर अरूको अस्तित्वमा रमाउने भएको अनुभव गर्छु ।
गुन्द्रुक हाम्रो प्रिय भएर होला हाम्रो अस्तित्वमा आजसम्म यसलाई बचाएर राखेका छौं । हाम्रो कल्चरमा गुन्द्रुकको आफ्नै स्थान छ । गुन्द्रुक बनाएर खाने जातिमा हामी मात्र परेको छौं र नै अरूभन्दा अलग्गै छौं ।
हामी पहाडी मूलको बासिन्दा हौँ । हामीलाई पहाडी क्षेत्र नै प्रिय लाग्छ । पहाडको पानी राम्रो, पहाडको बानी राम्रो भने झैं हामी सिधा सादा जातिमा पर्ने जातमध्ये एक हौं ।
आजको सभ्यताभन्दा केही अघिको सभ्यतामा गाडी घोडाको उति चलन थिएन । गाडी घोडाको असुविधा हुँदा साथै मूला, रायाको साग, मासु धेरै हुन्थ्यो । हाम्रो पुर्खाले लामो समयसम्म खानुको निम्ति गुन्दुक, सिन्की, किनेमा, सुकुटी आदि बनाएर राख्थे । यसरी राख्दा नबिग्रिने जुक्ति खोज्दा नै हाम्रो खानपिनमा एक अलग्गै परिचय बस्यो । आज नुनमा भिजाएर राखेको डल्ले खोर्सानीको अलग्गै खानुमा मजा छ ।
बिट्रिशको समयमा नै हाम्रो पल्टने भर्ती भएको अरे भन्ने कथा छ । तर मुगल साम्राज्य कालभन्दा अघिदेखि हाम्रो जातिले विभिन्न प्रान्तमा जागिर खाएका थिए । युद्ध लडनुमा सिपालु भएर मात्र होइन । नेपाल अनि बिट्रिशको युद्ध नालापानीमा भएको कुरा आज त्यहाँ भएको एउटा इतिहासमा वीरको गाथा गाउने हाम्रो पुर्खाको बलिदानसित पनि हाम्रो खानपिनको अलग्गै कुरा छ अरे ।
नालापानीको युद्ध धेरै दिनसम्म चलेको युद्धमध्ये एक हो । हार जित युद्धमा हुन्छ । तर नेपाली गोर्खाले कहिले पनि आत्मसमर्पण गरेको छैन । नालापानीको युद्धमा को नानी, को छोरी सबै बिट्रिशको विरोधमा लडेको थिए। यदि बिट्रिशले छल नगरेको भए हाम्रो पुर्खाको जित अवश्य हुनेथियो । ढुङ्गा मुडा लिएर यत्रो दिनसम्म लड्ने जातिको सन्तान हौं हामी । आधुनिक तकनीकि लडाइमा पनि खुकुरीको भरमा युद्ध लडेको थिए नालापानीमा । यसरी बिट्रिशलाई आछुआछु बनाएको जातिको धेरै दिनसम्म क्याम्पमा खानाहरू बन्द गर्दा समेत अझै उत्साहको साथ लडाइ लडेका थिए । आखिरमा बिट्रिशले हार मानेका थिए अन्तमा क्याम्पभित्र जाने पानीको नाला भत्काएपछि पानी खानु युद्ध लडदै बाहिर आउनु मजबुर भएको थिए । यसरी बिट्रिशले आफ्नो बन्दुकको बैनट (सङ्गिनी) ले भुडीमा हान्दा भुडीबाट सुकेको पत्ता (गुन्द्रुक) देखेपछि बुझे । नेपाली गोर्खा सुकेको पत्ता खाएर पनि युद्ध लडनु सक्छ भनेर सेनामा भर्ती लिएको अरे भन्ने चलन आज पनि यथावत छ नि ।
वि.सं.२०७७ फागुन ८ शनिवार ०५:५२ मा प्रकाशित






























