फागुन ९, काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयले जनाएअनुसार बैठक दिउसो २ बजेदेखि बस्नेछ ।
प्रदेश सभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईका अनुसार यसअघि तय भएको कार्यसूचीअनुसार नै बैठक बस्नेछ । आजको बैठकले यसअघि दर्ता भएको अविश्वासको प्रस्तावलाई टेबुल गर्न सक्नेछ ।
यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो। सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए।
मुख्यमन्त्री राईद्धारा बैठक स्थगित गर्न दबाब
यसैबीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन् । बैठकबारे आइतबार बिहान भएको छलफलमा उनले यस्तो दबाब दिएका हुन् ।
तर, सभामुखले भने उनको दबाबलाई अस्वीकार गरिदिएका छन् । सभामुखले आजको बैठक रोक्न आफुँले कुरा राईसमक्ष स्पष्ट पारिदिएका थिए ।
बैठक सञ्चालनमा अवरोध गर्ने ओली पक्षको योजना
निरन्तरको दबाबलाई सभामुखले अस्वीकार गर्दै बैठक बोलाउन अडान लिएपछि ओली पक्षले भने बैठकलाई अवरोध गर्ने तयारी थालेको छ । बैठक चलाईए अवरोध गर्ने ओली पक्षको तयारी छ ।
ओली पक्षले आफुँले कारबाही गरेका १६ जना सांसद बैठकमा उपस्थित हुन नसक्ने बताउँदै आएको छ । मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव दर्ता गर्ने १६ प्रचण्ड–नेपाल पक्षका सांसदलाई ओली पक्षले कारबाही गरेको थियो । यसैगरि प्रचण्ड–नेपाल पक्षले पनि ओली पक्षका सांसदहरुलाई कारबाही गरेको थियो ।
वि.सं.२०७७ फागुन ९ आइतवार १२:२७ मा प्रकाशित






























