फागुन ९, काठमाडौं । नाङ्गो प्रतिगमन हुँदा पनि आन्दोलनले गति लिन नसकेपछि नेताहरुले कमजोरी सुधार्ने वाचा गर्न थालेका छन् । शनिबार काठमाडौंको सभागृहमा आयोजित ‘प्रतिनिधिसभा विघटन, संबैधानिक संकट र निकास’ विषयक बृहद् अन्तरक्रियामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा सचिवालय सदस्य एवं केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले मुखले होइन् व्यवहारले कमजोरी सच्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल वुद्धिजीवी संगठनका संयोजक डा. दिनेश चन्द्र देवकोटाको सभापतित्व तथा पेशागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलको संचालनमा सम्पन्न सो कार्यक्रममा नेता श्रेष्ठले संविधानलाई लिक बाहिर जान नदिन तत्काल संसद पुर्नस्थापना गरेर अघि बढ्दै विकास, समृद्धि र न्याय सहितको समाजवाद स्थापना गर्ने उद्देश्य पूरा गर्न वहशलाई फराकिलो पार्न आफुँ तयार रहेको बताएका छन् । वर्तमान प्रतिगमनको जिम्मेवार मुख्यरुपमा प्रधानमन्त्री ओली भए पनि गैरलोकतान्त्रिक प्रवृत्ति हुर्काउन र यो स्थितिसम्म व्यहोर्ने वातावरणका लागि आफूँलगायत नेतृत्व पंक्ति पनि जिम्मेवार रहेको उनले बताए । उनले अदालत र निर्वाचन आयोगले संविधान र कानुनसम्मत काम नगरे जनअदालतले अन्तिम न्याय निरुपण गर्ने चेतावनी समेत दिए ।
अहिलेको घटना कसरी घट्यो ? जनता अझै आन्दोलित हुन किन सकेन बुद्धिजीवीहरुले गहन अध्ययन गर्नुपर्ने बताउँदै पुरै नेतृत्वपंक्ति सच्चिन तयार भएको प्रतिबद्धता उनले व्यक्त गरे ।
उनले आफूहरुबाट हुने गरेको गल्ती कमजोरी स्विकार्दै राजनीति व्यक्तिका लागि नभएर देश र जनताको लागि हो भन्ने अनुभुति गराउन, व्यक्तिवाद र आत्मकेन्द्रीत सोच अर्थात् ओली प्रवृत्ति नरहने अठोट सार्वजनिक गर्न, भनसुन र नातावादको अन्त्य गर्दै टुंडिखेल दर्ता गराउन पनि फोन गरिदिने प्रवृत्ति पूर्णरुपमा हटाउन, जनताको कष्ट र जनजीवीकाप्रति जिम्मेवार बन्न, गुट, नेता र शक्तिको पछि नलाग्नेहरुले जिम्मेवारी नपाउने स्थिति हटाउन, ठिक व्यक्तिलाई ठिक ठाउँमा जिम्मेवारी प्रदान गर्न, आफ्नालाई बचाएर अरुलाई मात्र भ्रटाचारी ठहयाउने पूव्राग्रही प्रवृत्ति अन्त्य गर्न, शिक्षा र स्वास्थ्यको नीजीकरणमा लाग्ने राजनैतिक नेतृत्वको रवैया रुपान्तरण गर्न, नीतिगत भ्रष्टाचारमा लिप्त हुने ठाउँ नदिन,संघीय शासन प्रणालीलाई विकेन्द्रीकरणको इकाइका रुपमा लिने प्रवृत्तिको रुपान्तरण गर्न, असारे विकासको पुरानो परिपाटी पूर्णरुपमा अन्त्य गर्न, राज्य र पार्टीमा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुनिश्चित गर्न, पार्टीभित्रको लोकतन्त्र र सामाजिक न्याय सहितको समाजवादी राज्यतर्फ व्यवहारमा उन्मुख हुनका लागी उपर्युक्त संयन्त्रहरुको निर्माण गर्न गम्भीरताकासाथ महसुस भएको उनले बताए ।

कार्यक्रममा विशिष्ठवक्ता रहेका पूर्वप्रमूख निर्वाचन आयुक्त भोजराज पोखरेलले ‘ह्वाई डेमोक्रशी इज डाई’ भन्ने पुस्तक उद्धरण गर्दै निर्वाचित प्रतिनिधिहरुबाटै लोकतन्त्र खतरामा रहेको धारणा पेश गरेका थिए । उनले वुद्धिजीवीहरुमा आलोचनात्मक चेत नहुँदा समस्या उत्पन्न भएको, संबैधानिक अंगहरुको विश्वसनियता कायम गर्ने चुनौती रहेको, कानुनसम्मत निर्णय गर्ने ठाउँ हुँदाहुँदै पनि निर्वाचन आयोगले ढिलाइ गर्न परिरहेको, कानुनी र प्राविधिक हिसावले निर्वाचन भनिएपनि राजनैतिक वातावरण नरहेको जस्ता विषय राखेका थिए भने मानवअधिकार आयोगकी पूर्वप्रवक्ता मोहना अन्सारीेले हरेक गलत कदमलाई समर्थन गर्दै आएका कारण प्रतिगमन बढेको उल्लेख गर्दै ठूला र शक्तिसाली भन्ने दलहरुले खुट्टा कमाएको प्रति रोष व्यक्त गरेकी थिइन ।
कार्यक्रममा प्रखर धारणा व्यक्त गरेका पूर्व महान्यायधिवक्ता वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यस्तो प्रवृत्तिका लागि अर्को एक ‘जबरजस्त धारा’ थप्नुपर्ने व्यंग गरे । उनले नेपालमा राजाले बनाएको संविधान पनि विफल हुने गरेको र दलहरुले बनाएको गणतान्त्रिक संविधान पनि विफल भए विदेशीले बनाउने संविधान लागू हुने खतरा बढेको बताए ।
देश निकै संकटमा फसाउन खोजिएको बताउँदै उनले संविधान निर्माणका ऐतिहासिक घटना, संसद विघटनका पुराना प्रयासहरु र अविस्वासका प्रस्तावका कथाहरु बताउँदैं प्रधानमन्त्री ओलीलाई राणा र राजाभन्दा पनि बढी शक्तिसाली बनाउने धृष्टता भैरहेकोमा रोष प्रकट गरेका थिए । उनले वर्तमान सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै भने ‘तँ मरेस भनेर कसैले भन्दैमा मरेजस्तो गर्ने की उठेर प्रतिवाद गर्ने ?’ सभामुखले संसद सुचारु गर्न नसकेको प्रति उनको आक्रोश थियो ।
कार्यक्रममा वक्ता रहेका पूर्वमहान्यायाधिवक्ता प्रा.डा युवराज संग्रौलाले प्रतिनिधिसभाको भन्दा पनि संविधानको चिन्ता बढेको बताउँदै जनतासँग माफी मागेर दलहरु अघि बढ्नुपर्ने सुझाव दिएका थिए । उनले दिशालाई नगन्हाउने आची ठान्ने व्यक्तिहरु बुद्धिजीवी नहुने बताउँदै प्रतिनिधिसभा पुर्नस्थापना पछिको समाजवादी मार्गचित्रमा जोड दिएका थिए ।
नेपाल वुद्धिजीवी संगठन, पेशागत महासंघ नेपाल, प्रगतिशील प्राध्यापक संगठन, प्रगतिशील इन्जिनियर्स लगायतका वुद्धिजीवी तथा पेशाकर्मी संगठनको आयोजना तथा नेकपाका नेता पम्फा भुसाल, गणेश शाहलगायतको उपस्थितिमा भएको सो अन्तरक्रियामा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका प्रा.डा रमेश भट्टराईले वुद्धिजीवीहरुको पहिचान आन्दोलन र निरन्तर संघर्षबाट मात्र हुने बताएका थिए । उक्त कार्यक्रममा मोहन घिमीरे, बेदनिधि निराला, रामराज कार्की, छत्र कार्कीलगायतका सहभागीहरुले सुझाव राखेका थिए । कार्यक्रमको संक्षिप्त निचोड राख्दै नेपाल वुद्धिजीवी संगठनका अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले बिभिन्न वक्ताहरुको धारणा संक्षेपीकरण गर्दै नेता नारायणकाजीको समिक्षा र महसुस सहितको अभिव्यक्तिबाट बौद्धिक जगतलाई उर्जा मिलेको बताएका थिए ।
वि.सं.२०७७ फागुन ९ आइतवार १६:१२ मा प्रकाशित






























