१२ फागुन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेसँगै उक्त ऐतिहासिक कदमको स्वागत गर्दै गौतमले ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी राजिनामा दिनुपर्ने माग गरेका हुन् ।
नेकपामा ओली पक्ष र प्रचण्ड–माधव पक्ष भएर पार्टी विभाजन भएपछि कुनैपनि पक्षमा नलागि पार्टी एकताका लागि राष्ट्रिय एकता अभियान चलाएर पार्टी एकतावद्ध गराउन लागि परेका गौतमले नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्दै तत्काल सचिवालयको बैठक धुमबाराहीस्थित पार्टी कार्यालयमा बोलाउन समेत एक विज्ञप्तिमार्फत् अनुरोध गरेका छन् ।
यस्तो छ गौतमको विज्ञप्ति
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७ साल फागुन ११गतेको दिन ऐतिहासिक महत्वको रहेको छ।
यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ । आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो । यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु ।
यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछुः–
१- सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ ।
२- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजीनामा दिनु पर्छ ।
३-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।
वामदेव गौतम
उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१२।११।२०७७
वि.सं.२०७७ फागुन १२ बुधवार ०९:५६ मा प्रकाशित






























