१४ फागुन, काठमाडौं । युरोप जाने पाइने आसमा जागिर छाडेर बसेका सैनिक, शसस्त्र र प्रहरीलगायतका १५० जना व्यक्ति ठगिएका छन् ।
बैदेशिक रोजगारका क्रममा पोर्चुगल, रोमानिया, अफगानिस्तान लगायत युरोपका विभिन्न देशमा पठाउँछु भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड बढी ठगी गरेको खुलेको छ ।
बैदेशिक रोजगार विभागका निर्देशक कुमार प्रसाद दाहालका अनुसार अहिलेसम्म १५० जनाले उक्त म्यानपावरले ठगी गरेको रकमसहित उजुरी दिएको समाचार शुक्रबारको नागरिक दैनिकमा रहेको छ ।
यसरी ठगिनेमा धेरैजसो नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा कार्यरत तथा जागिर छाडेर बसेका रहेको पनि दाहालले जानकारी दिएका छन् ।
उक्त म्यानपावरले युरोपका विभिन्न देशमा पठाउने भनेर एकजनाबाट दुई देखि १५ लाखरुपैयाँ सम्म असुल गरेको थियो । अफगानिस्तान जान भन्दै पूर्ववरिष्ठ हबल्दार मधुकुमार ठकुरीलगायतका धेरैजसोलाई मासिक लाख रुपैयाँ पारीश्रमिक पाइने भन्दै म्यानवापर संचालक र कर्मचारीले प्रलोभनमा पारेका थिए ।
ठकुरीलाई उक्त म्यानपावरले कूल पाँचलाख रुपैयाँ तिर्नुपर्ने बताउँदै सुरुमा तीन लाख र अफगानिस्तान पुगेपछि दुई लाख बुझाउनुपर्ने सर्त राखेको थियो ।
ठकुरीलाई अफगानिस्तान लैजान भन्दै भारतको दिल्लीमा एकसाता राखेपछि फर्काएको र त्यसपछि मात्र आफू ठगिएको शंका लागेको ठकुरीले बताएका छन् ।
युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने नाममा ठूला रकम असुल गरिरहेकै बेला म्यानपावरका संचालक रामेश्वर सिंह बैदेशिक रोजगारी ठगीको अभियोगमा पक्राउ परे ।
२०७४ सालदेखि नै ठगी गर्न थालेको उक्त म्यानपावर नविकरण समेत नभएको र पैसा कसरी उठाउने भन्नेमा समस्या देखिएको पनि महानिर्देशक दाहालले बताएका छन् ।
वि.सं.२०७७ फागुन १४ शुक्रवार ०९:२८ मा प्रकाशित






























