१९ फागुन, काठमाडौँ । संघीय संसदका सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइँदैछ। प्रतिनिधिसभा बैठकमा सहभागी हुनुअघि सांसदलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन लागिएको हो ।
संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदहरुलाई बिहान १० बजेदेखि ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भ्याक्सिन लगाउने कार्यक्रम तय भएको छ।
आज सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका साथै दुवै सदनका सांसद, महासचिव, सचिव, कार्यव्यवस्था र सुविधा व्यवस्थापन शाखाका कर्मचारी, मर्यादापालक र पत्रकारहरुलाई भ्याक्सिन लगाइनेछ।
संघीय संसदका अन्य कर्मचारी लगायत अन्यलाई भने बिहीबार भ्याक्सिन लगाउने कार्यतालिका रहेको छ।
संघीय सांसदभित्र कार्यरत सुरक्षाकर्मीलाई २० गते बिहीबार र २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र बुधबार र बिहीबार लगाउन छुटेकालाई खोप लगाइने संसद सचिवालयले जनाएको छ ।
वि.सं.२०७७ फागुन १९ बुधवार ०८:५३ मा प्रकाशित






























