आज शहीद दिवस, शहीद कति सम्मानित सब्द हो । व्यत्तिगत स्वार्थ पूरै त्यागेर समाज र राष्ट्रप्रति ज्यान सुम्पने शहीद आफैमा उच्च आदरार्थी भाव हो ।
२००७ सालमा प्रजातन्त्र आएको भनेर ढोल पीटियो, २–४ सय मान्छेलाई धनी बन्ने अवसर प्रांप्त भयो । २०१७ सालमा फेरि जनता र राष्ट्रकै नाममा ‘कु’ गरियो र बत्ति बाल्नेवालालाई प्रजातन्त्र दिइयो र सय ढेडसय ठूला बडालाई मौजा सुम्पियो । २०२८ देखि २०३६ र २०४२ सम्म आइपुग्दा अरु थप २–४ सयलाई पंचायती प्रजातन्त्रको स्वाद चखाइयो । २०४६ को परिवर्तनपछि २–४ हजारको संख्यामा मान्छेले आफ्नो स्तर उकासे । २०५२ देखि २०६२/६३ सम्म चलेको जनयूद्धकै क्रममा पनि एक डेढसय मान्छेहरु निकै धनी भएको हल्ला आयो । २०६२/६३ को जनआन्दोलनापछि पनि सबै थरी गरेर २–४ हजार मान्छेले प्रजातन्त्र, लोकतन्त्र र पछिल्लोपटक गणतन्त्रको रस्वादन मजैले गरेका छन् ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको अर्थ सामुहिक संस्कृतिको संस्थागत विकास हो । निरंकुश राजतन्त्र गएपनि बहुदलिय राजा ! हरुले पालैपालो शासन चलाइरहेका छन् । व्यक्तिवाद, परीवारवाद र गुटतन्त्रको भद्दा र विकृत अभ्यास बढाइएको छ । राष्ट्रलाई स्वाधीन र समृद्धितर्फ लैजान तथा आम जनतालाई धनी बनाउने नारा अझै दोहो¥याइएकै छ । शहीदका नाउँमा गरीने माल्र्यापर्ण र सलामीलाई संचारमाध्यमहरुले बडो महत्वका साथ संप्रेषण गर्न चुकेका पनि छैनन् । मानौ यो देशमा शहीदको सम्मान बडो सानदार र भव्य हुन्छ भन्ने झल्झली देखाएकै हुन्छ ।
आजपनि गणतन्त्रका नेताहरुले शहीदलाई सम्झदैछन् । उनीहरु शहीदगेट त पुग्छन नै त्यसमाथि उनीहरुको भाषण जनतालाई लठ्याउने र कार्यकर्तालाई उक्साउने कार्यनीतिमै आधारीत हुनेछ । उनीहरुले शहीदका फोटोमा फूल गुच्छा राखिरहँदा शहीदका सपना स्मरण गर्ने बानी हटिसकेको छ । औपचारिक कार्यक्रममा नजाँदा देश दुनियाले कुरा काट्लान भन्ने औधी पिर पनि छ उनीहरुलाई र औपचारिक पोशाकमा सलामी हानिरहँदा धुनको मजा लिने बानी पनि परिसकेको छ । त्यसकारण जसरी पनि, जे गरेर पनि, जोसँग सहवास गरे पनि कुर्सी र सत्ताको बाध्यता छ नेताहरुलाई ।
दशरथ चन्द, धर्मभक्त, गंगालाल, शुक्रराज शास्त्री र भीमदत्त पंतहरु, क्या. यज्ञ बहादुर थापा, रामनाथ घिमीरे, विरेन राजवंशीहरु तथा शुरेस वाग्ले, कृष्ण सेन तथा कृष्ण गौतमहरुको शहादतको ठूलो मुल्य छ यो देशमा । व्यवस्था र राज्य परिवर्तनका क्रममा औपचारिक नाउँ परिवर्तन मात्र उनीहरुको सपना थिएन । जेल बसेका नाउँमा र एउटा पद सम्हालेकै नाउँमा आफ्ना ७ पुस्तालाई सम्पत्ती थुपार्ने कसम खाएर उनीहरु शहीद भएकै होइनन् । शासकिय संस्कृतिको क्रान्तिकारी रुपान्तरण र सामुहिकतामा आधारीत समाजवादको सुनालौ सपना ती सबैको साझा लक्ष थियो । स्वाधीन र समृद्ध देश अनि स्वाभिमानी नागरिकको पहिचानका लागि उनीहरुको शहादत भएको थियो । राष्ट्रप्रतिको समपर्णका लागि भनेर नै शहीदलाई संझिने हो ।
घिनलाग्दा मान्छेहरुले शहीदको फोटोमा माल्यार्पण गरिरहँदा बडो असजिलो महसुस हुँदोरहेछ । जो व्यक्ति चरम व्यक्तिवादमा निर्लिप्त छ । जसले सामुहिकता कुल्चन्छ र आफ्ना भ्रष्ट आचरण छोप्न कुर्सीको अविवेकी प्रयोग गरिरहन्छ । तीनै व्यक्तिले शहीदलाई सलामी अर्पिदा बडो शर्मिन्दा हुँदोरहेछ ।
जल, जमिन, जंगल, जडिबुटी, जलवायू, जनावर, जराजुरी र जनशक्तिको विविधताले भरिपूर्ण देशले ४५ लाख युवालाई विदेश पठाएको छ र अर्को ७० लाखलाई भारतका कुना काप्चामा चौकीदार, कुल्ली, दरबान र मसल्चीका काममा धकेलिइरहेको छ । किसानी गर्छु भनेर धान राप्ने किसानलाई १ मुरी धान फलाउन ४ हजार बढी लगानी गर्नुपर्ने बाध्यता छ भने २ हजार मूल्यमा १ मुरी धान दक्षिणबाट खुरुखुरु आइरहेको छ । श्रोत र साधनको ठिक पहिचान, माटो र जलवायुको व्यवसायिक प्रयोग तथा उत्पादनबाट स्वाधीनता र समिृद्धको जग बसाउनेतर्फ गहिरो चिन्ता बढ्दै गएको छ ।
सत्य नखोज्ने, सत्य नबोल्ने र धाप मारेर आफ्ना पछाडि अविवेमकी जमात तयार गरिरहने अनि कुर्सी वा माथिल्लो पदमा जसरी पनि बसीरहने गैरप्रजातानिन्त्रक, गैरलोकतान्त्रिक र गैर गणतान्त्रिक संस्कृति भएका नेताहरुको रुपान्तरण यतिबेला मुलुकको अहम प्रश्न बनेको छ । सत्य खोज्दा र सत्य बोल्दा निरंकुश मनोवृत्ति भएकाहरुबाट दुःख पाउने स्थिति अहिले पनि उत्तिकै छ ।
शहीद रहरले बनिने भाव र आवेग त होइन तर शहीदहरुको सपना र मुल्यको यर्थाथ बोध गराउन शासकहरुको रवैयाका विरुद्धमा नयाँ विद्रोह जरुरी छ । रहर वा खेतिका लागि होइन, सत्यको खोजीको लागि नयाँ लामवन्दी आवश्यक भएको हो की भन्ने तर्फ बहश बढेको छ । अनुरोध, अपिल, आग्रह गर्दा नसुन्ने र बहिरो हुने शासकिय संस्कृतिका विरुद्ध नयाँ प्रकारको सचेत धक्का जरुरी देखिएको छ । त्यतिबेला के हुन्छ भन्न सकिन्न । तर, निश्चित के हो भने शहीद सस्ता हुँदैनन् ।
वि.सं.२०७३ माघ १६ आइतवार ०६:१६ मा प्रकाशित