
२ चैत्र, काठमाडौँ । केहि महिना अघि निर्वाचन आयोगमा दर्ता भएको सन्ध्या तिवारी नेतृत्वको पार्टी नेकपा(एमाले) को नाम फेरिएको छ ।
निर्वाचन आयोगको पत्रानुसार पार्टीको नाम परिवर्तन गरी ‘जनताको जनवाद पार्टी (जजपा) राखिएको तिवारीद्वारा आयोगलाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।
नेकपा नाम विवादका बारेमा सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएपछि निर्वाचन आयोगले फागुन २५ गते तिवारी नेतृत्वको पार्टीलाई नाम परिवर्तन गर्न पत्राचार गरेको थियो ।
तिवारीद्वारा नाम संसोधनका लागि निर्वाचन आयोगलाई जानकारी गराइएको पत्रमा ‘आइतबार बसेको केन्द्रीय कमिटी बैठकले यसअघि रहेको नेकपा एमालेको नाम परिवर्तन गर्दै पार्टीको नाम जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्ने निर्णय गरेको उल्लेख छ ।’
तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नेतृत्वभित्र टकराव बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा(एमाले) आयोगमा दर्ता भएको थियो ।