back
CTIZAN AD

अमेरिकाको आप्रवासीलाई अनुरोधः सीमा बन्द छ, त्यता नजानू

वि.सं.२०७७ चैत ११ बुधवार

624 

shares

११ चैत्र । संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका(मेक्सिकोको सीमामा नआउन आग्रह गरेका छन् ।

अमेरिका प्रवेश गर्ने चाहना बोकेका तर प्रवेशाज्ञा अनुमतिको कागजात नभएका हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकहरुबाट आइरहेका समाचार बाहिरिएसँगै उनले अमेरिकी सीमा बन्द गरिएको जानकारी दिएका छन् ।

मेक्सिको सिटीमा रहेको अमेरिकी राजदूताबासबाट सार्वजनिक गरिएको उनको एउटा अडियो सन्देशमा भनिएको छ, “सीमामा नआउनु होला । सीमा बन्द गरिएको छ ।”

ज्याकोब्सनले अवैधानिक ढङ्गबाट संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरु आपराधिक तत्वहरु र मानव तस्करबाट पीडित हुने जोखिम पनि रहने बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषदमा दक्षिण अमेरिकी प्रमुख हुवाँ गोन्जालेज र ज्याकोब्सनले मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डसँग मेक्सिको सिटीमा वार्ता गरेपछि ज्याकोब्सनको अडियो सार्वजनिक गरिएको हो ।

आर्थिक सङ्कट, अपराध र पर्यावरणीय विपदबाट जीवन कष्टप्रद भएको जनाउँदै मध्य अमेरिकी मुलुकहरुबाट ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न मेक्सिकोको बाटो हुँदै उत्तरतर्फ बढेका छन् ।

बालबच्चा सहित ठूलो संख्यामा मानिसहरु कैयौं दिनदेखि हिँडेरै अमेरिकी सीमामा पुग्न लागेको आप्रवासीका क्षेत्रमा कृयाशील सङ्घसंस्थाले जनाएका छन् ।

ज्याकोब्सनले सन्देशमा मेक्सिकोको उत्तरी सीमा क्षेत्रमा यात्रा निकै कठिनाइपूर्ण रहेको बताउँदै मानव तस्करहरुले सीमापार गराइदिने प्रलोभनमा लुटपाट र शोषण गर्न सक्ने खतरा रहेको बताएका छन् ।

यसबाहेक, विश्वभर नै कोरोनाभाइरसको महामारी फैलिइरहेको अवस्थामा ठुल्ठूलो समूहमा हिँड्दा वा शिविरमा बस्दा कोरोनाभाइरसको सङ्क्रमण हुने खतरा अरु बढ्ने बताउँदै उनले आप्रवासी प्रक्रियाका बारेमा बढीभन्दा बढी जानकारी लिन र सुरक्षित रहन आग्रह गरेका छन् ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रशासनले उपलब्ध गराएको तथ्याँकमा गत फेब्रुअरीको एक महिनामै अमेरिका प्रवेश गर्न खोज्ने करिब एक लाख व्यक्तिलाई सीमा क्षेत्रमा नियन्त्रण गर्नु परेको उल्लेख छ ।

आप्रवासीको संख्या दिनहुँ बढ्दै गएका खबरहरु सार्वजनिक भएलगत्तै राष्ट्रपति जो बाइडेनले त्यस्ता आप्रवासीलाई आफ्नो देश नछाड्न आग्रह गरेका थिए । तर राष्ट्रपति बाइडेनको आग्रहलाई समेत बेवास्ता गर्दै ठूलो संख्यामा आप्रवासीहरु अमेरिकी सीमा क्षेत्रमा ओइरिन थालेपछि अमेरिका र मेक्सिकोबीच वार्ता हुन थालेको छ ।

मेक्सिकोले अमेरिकातर्फ हिँडेका मध्य अमेरिकी आप्रवासीलाई आफ्नो सीमामै रोक्न दक्षिणी सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाएको छ । जनवरी यतामात्र मध्य अमेरिकाबाट मेक्सिकोतर्फ हिँडेका कागजात विहीन ४ हजार १८० बालबालिकालाई नियन्त्रणमा लिइएको थियो ।

ज्याकोब्सन र गोन्जालेज दुबै हाल मेक्सिकोमा छन् । उनीहरु आप्रवासीको आप्रवाहलाई व्यवस्थापन गर्ने सम्बन्धमा योजना निर्माणका लागि मेक्सिकोका अधिकारीहरुसँग छलफलमा व्यस्त रहेका छन् ।

एसोसिएटेड प्रेसका अनुसार बाइडेन प्रशासनले ट्रम्पले अघि सारेका आप्रवासन नीतिहरुमा फेरबदल गर्न चाहेको छ । ट्रम्पका नीतिहरु आप्रवासी विरोधी हुनुका साथै अमेरिका प्रवेश गर्नेहरुमाथि कडा शर्तहरु राखिएका थिए ।

तर बाइडेन प्रशासनका दुई अधिकारीले मेक्सिकोका विदेश मन्त्रीसँग मानवीय पक्षका साथै मध्य अमेरिकाको विकासका मुद्दाहरुमा छलफल केन्द्रित गरेका छन् ।

मेक्सिकोका विदेश मन्त्री एब्रार्डले आप्रवासनको समस्या सुल्झाउन क्षेत्रीय विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले भने, “यदि हामीले मिलेर कार्य गरेको खण्डमा मेक्सिकोका दक्षिणी छिमेकी मुलुकहरुको भविष्य भिन्न हुनेछ, सम्भावना बढ्नेछ । कोही पनि व्यक्तिले गरिबी, असुरक्षा र निराशाका कारण आफ्नो देश छाड्नुपर्ने छैन ।”

अमेरिकामा खासगरी ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट हालैका वर्षहरुमा ठूलो संख्यामा आप्रवासीहरु प्रवेश गर्ने गर्दछन् । यी मुलुकमा व्याप्त भ्रष्टाचार र हिंसाका साथै हालै आएका ठूल्ठुला समुद्री आँधीले यहाँको जनजीवन अति दयनीय बनेको छ ।

आप्रवासनले मानवीय सङ्कटको स्वरुप लिएसँगै ट्रम्प प्रशासनले सन् २०१९ मा मेक्सिकोमाथि दबाब सिर्जना गरेपछि राष्ट्रिय सेनालाई नै सीमामा सेना परिचालन गरेको थियो । आप्रवासनमाथि नियन्त्रण गर्न प्रभावकारी कदम नचाले मेक्सिकोबाट अमेरिकातर्फ हुने आयातमा करवृद्धि गर्ने चेतावनी ट्रम्पले दिएका थिए ।

तर बाइडेन प्रशासनले हाल कुटनीतिक विधिलाई बढी प्रयोगमा ल्याउन चाहेको छ, तर यसमा पनि मेक्सिकोको सहयोग अपरिहार्य हुनेछ । आप्रवासीको मुद्दालाई सम्बोधन गर्न भन्दै बाइडेन प्रशासनले ४ अर्ब डलर विकास सहायता यस क्षेत्रका मुलुकलाई उपलब्ध गराउने बताएको छ ।अमेरिकी प्रतिनिधिमण्डलले बुधबार ग्वाटेमालाका अधिकारीहरुसँग पनि बैठक गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । रासस

वि.सं.२०७७ चैत ११ बुधवार १४:४६ मा प्रकाशित

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...