
१२ चैत, काठमाडौं । भारतमा ४० वर्ष जेल जीवन विताएर फर्किएका इलामका दुर्गा प्रसाद तिम्सिना (दीपक जैसी) ले नागरिकता पाएका छन् ।
आइतबार भारतमा ४० वर्षे जेल जीवन बिताएर नेपाल फर्काइएका तिम्सिनालाई जिल्ला प्रशासन कार्यालय इलामले नागरिकता प्रदान गरेको हो ।
तिम्सिनाको परिवारले चासो देखाएपछि त्यहाँका जनप्रतिनिधिको पहलमा जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाईँ र देवी चरण फुयाँलले तिम्सिनालाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता पाएपछि उनले मुस्कुराउँदै खुसी व्यक्त गरेका थिए ।
भारतको पश्चिम बंगालस्थिगत दमदम करेक्सनल सेन्ट्रल जेलमा रहेका तिम्सिना कोलकोत्ता उच्च अदालतको आदेशमा गत शनिबार छुटेका थिए । मानसिक रुपमा कमजोर रहेका उनी अहिले पनि राम्रोसँग बोल्न र जवाफ दिन भने सक्तैनन् ।
दार्जिलिङमा चलेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा जेलमा रहेका उनको पहिचान खुल्ने सबै कागजात जलेको थियो । प्रहरीको यातनाले शारीरिक र मानसिक अवस्था कमजोर रहेका उनलाई २००५ मा दार्जिलिङ अलिपुरद्धारा जेलबाट कोलकोताको दम दम सेन्ट्रल जेलमा सारिएको थियो ।
जेलमै रहेका उनलाई ४० वर्षपछि काकाका छोरा प्रकाशचन्द्रको पहलमा आइतबार उद्धार गरेर इलामस्थित घरमा पुर्याइएको थियो । तस्बिरः सत्येन्द्र जवेगु