back

सकारात्मक अभिभावक कसरी बन्ने ?

वि.सं.२०७७ चैत १२ बिहीवार

372 

shares
NTC AD
Global IME AD

शिक्षाविद् मेदिन लामिछाने अभिभावकहरुले बच्चाहरुको रुचि अनुसार व्यवहार गर्नुपर्ने बताउँछन् ।

‘धेरै अभिभावक आफ्ना नानी-बाबुलाई उनीहरूको सपना र लक्ष्य पछ्याउने भन्दा आफ्नो सपना र लक्ष्य पछ्याउन लगाउँछौँ। आफ्नो खुशीको लागि उनीहरूलाई जिम्मेवार नबनाऔँ र उनीहरूको सपना छाड्न पनि नलगाऔँ। आफ्नो खुशीको लागि उनीहरूलाई जिम्मेवार बनाउने अभिभावक विषाक्त अभिभावक (Toxic parents) हुन्।’ लामिछाने भन्छन् “केही नानी-बाबु काम गर्न इन्कार गर्छन्। नियम मान्दैनन्। चुनौतिपूर्ण व्यवहार देखाउँछन्। यस्ता नानी-बाबु अटेरी नानी-बाबु हुन्। उनीहरूलाई व्यवहार सिकाउन हामी नै बदलिनुपर्छ। हामी नबदलिई उनीहरूलाई बदल्न खोज्यौँ भने प्रत्युत्पादक हुन्छ। उनीहरूले चुनौतिपूर्ण व्यवहार देखाउँदा धैर्यता राखौँ।’

नानी-बाबुलाई अनुशासन सिकाउन मानसिकता नै परिवर्तन गर्नुपर्छ। दण्डात्मक मानसिकताले भन्दा पुनर्स्थापना मानसिकताले अनुशासन सिकाऔँ। यसको लागि दण्डात्मक मानसिकता (डर,नियम, नियन्त्रण,रिस र दण्ड)को स्थानमा पुनर्स्थापना मानसिकता (आदर, सहभागिता,सहयोग,सुझबुझ र प्रतिबिम्बन)को प्रयोग गरौँ। ‘

आफ्ना नाबी–बाबुको व्यवहार सुधार्ने के गर्नुपर्दछ भन्ने बारेमा उनले विभिन्न टिप्सहरु दिएका छन् । बालबालिकाको मनोविज्ञान बुझेर त्यहिअनुसार व्यवहार गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो विचारहरु राख्दै आएका शिक्षाविद् लामिछाने भन्छन् :

सकारात्मक अभिभावक कसरी बन्ने?
क) बोल्ने भन्दा बढि नानी-बाबुलाई सुनौँ।
ख) केही भन्नु अघि आफ्नो संवेग जाँचौँ।
ग) कुनै पनि गतिविधिको सिमा तोकौँ।
घ) हाम्रो अपेक्षा उमेर सुहाउँदो छ/छैन जाँचौँ।
ङ) तार्किक परिणाम मात्र भोग्न लगाऔँ।
च) नानी-बाबु सिक्दैछन् भन्ने कहिल्यै नविर्षौँ।

नानीबाबुले नकारात्मक कुरा गर्दा यसो गरौँ।
क) उनीहरुको शब्दलाई होइन भावनालाई स्विकार गरौँ।
ख) बिषयबस्तु बुझाउन मुस्कानको सहयोग लिगौँ।
ग) उनीहरुको कामलाई भन्दा काम गर्न गरेको मिहेनतको प्रशंशा गरौँ।
घ) घरलाई सिकाइको सुरक्षित थलो बनाऔँ।
ङ) कुरा र विचारमा ‘बिकास मानसिकता’ देखाऔँ।

हामी कहिलेकाँही नानी-बाबुलाई अनुशासन सिकाउन मौन उपचार (Silent Treatment)विधि प्रयोग गर्छौँ।
क) विशेष समयमा वेवास्ता गर्नु।
ख) बोल्दा वास्ता नगर्नु।
ग) उनीहरूको काममा चासो नदिनु।
घ) प्रश्नको उत्तर एक शब्दमा दिनु।
ङ) स्पर्श, स्नेहको अभाव देखाउनु। यसले फाईदा भन्दा हानि बढी गर्छ।

नानी-बाबुलाई घरमा असल व्यवहार सिकाउँदा “जसले विगार्छ, उसैले बनाउँछ”(You break it-you fix it)मोडेल अनुसरण गराऔँ। जस्तै:
क) जसले फोहर गर्छ,उसैले सफा गर्ने।
ख) जसले सामान छाड्छ,उही फेरी गएर ल्याउने।
ग) जसले अर्काको चित्त दुखाउँछ,उसैले माफि माग्ने।
घ) जसले पोख्छ, उसैले सफा गर्ने।

नानी-बाबुलाई बिगार्नु छ भने यति गरे पुग्छ।
क) सत्य बोल्दा पनि गाली गर्ने।
ख) अरूको अघि हप्काउने।
ग) प्रोत्साहन भन्दा बढि निर्देशन दिने।
घ) अरूसँग जहिल्यै तुलना गर्ने।
ङ) बिकल्प नदिने।
च) प्रश्नको छोटा र चिढिने खालको उत्तर दिने।
छ) आफुले चाँहि नगर्ने तर उनीहरूलाई चाँहि गर भन्ने। क्रमशः

वि.सं.२०७७ चैत १२ बिहीवार १४:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD