चैत १३, काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का दुई समूहले बेग्ला–बेग्लै बैठकको आव्हान गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएसँगै माधव कुमार नेपाल पक्षले बेग्लै बेठक बोलाएको हो ।
शुक्रबार माधव पक्षको केन्द्रीय समिति र सांसदहरुको बैठक मेघा पार्टी प्यालेस, कलंकीमा बस्दैछ भने ओली पक्षले प्रधानमन्त्री निवास, बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् ।
माधव पक्षको बैठकमा गत फागुन २८ देखि यता ओली पक्षले गरेका एकलौटी निर्णयका बारेमा समिक्षा हुने कार्यक्रम छ । साथै स्पष्टीकरण पत्रका बारेमा पनि छलफल हुने कार्यक्रम रहेको माधव पक्षका एक नेताले बताए ।
प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो ३ बजे बस्ने बैठकमा भने चालु अधिवेशनबारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थिति हुने चर्चा चलाइएपनि सम्भावना कम रहेको बुझिएको छ । माधव पक्षका शीर्ष नेताहरुले ओलीसँग झुकेर अगाडि बढ्न नसकिने बताएका छन् ।
यसअघि ओलीले बोलाएको संसदीय दलको तीन वटा बैठकलाई माधव पक्षका सांसदहरुले बहिस्कार गरेका थिए ।
वि.सं.२०७७ चैत १३ शुक्रवार ११:३० मा प्रकाशित





























