२५ चैत, काठमाडौं । माओवादी केन्द्रका तर्फबाट गण्डकी प्रदेश सरकारमा मन्त्री बनेका दुई मन्त्रीले राजिनामा दिने भएका छन् ।
बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुई मन्त्रीलाई राजिनामा दिन लगाउने निर्णय गरेको बताइएको छ । संसदीय दलको बैठकको निर्णय अनुसार आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले राजिनामा दिनुपर्ने बताइएको छ ।
गण्की प्रदेशसभामा सबैभन्दा बढी एमालेका २७, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा बदर गर्दै नेकपा एमाले र माओवादी केन्द्र व्युँत्याइदिएपछि प्रदेश तथा केन्द्रमा सरकारलाई सार्थन दिने र फिर्ता लिने क्रम चलिरहेको छ । नेकपा माओवादी केन्द्रले संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने बताएको छ ।
त्यसैगरी कर्णाली प्रदेशमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्र बहादुर शाहीको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको छ भने, प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविस्वास प्रस्ताव फिर्ता लिइएको छ ।
वि.सं.२०७७ चैत २५ बुधवार १२:२७ मा प्रकाशित






























