२९ चैत, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गरेको छ । फुटबल खेलकै सबैभन्दा बढी रोचक मानिने यी दुई स्पानिस क्लब बिचको खेलमा रियलले जित निकालेको हो ।
रियलको घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको खेलको पहिलो हाफमानै रियलले दुई गोलको अग्रता लिएको थियो । रियलका लागि खेलको १३ औँ मिनेटमा करिम बेन्जेमाले लुकास भास्कासको क्रसमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । भने २८ औँ मिनेटमा टोनी क्रुसले फ्रिकिक मार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
पहिलो हाफमा बढी दबाबमा रहेको बार्सिलोनाले दोस्रो हाफमा केहि आक्रमक प्रदर्शन गरेपनि टोलीलाइं हार टार्नभने सकेन । बार्सिलोनाको लागि खेलको ६० औँ मिनेटमा ओस्कार मिगुएजाले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि हारटार्न भने सकेन ।
यो जितसगै रियलले ३० खेलबाट ६६ अंक जोडदै अंक तालिकाको शिर्ष स्थानमा रहन सफल बनेको छ भने समान खेलबाट ६५ अंक रहेको बार्सिलोना तेस्रो र एक खेल कम खेलको एट्लेटिको मड्रिड समान ६६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
वि.सं.२०७७ चैत २९ आइतवार ११:०० मा प्रकाशित