
१ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी कदमविरुद्ध एकजुट हुन सबैलाई आव्हान गरेका छन् ।
बुधबार नयाँवर्ष २०७८ को शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामी कदमविरुद्ध संघर्षरत सबै पक्षलाई संघर्षका निम्ति मोर्चा बनाई एकतावद्ध पहलकदमीका साथ नयाँ सरकार निर्माणका लागि एकजुट हुन आव्हान समेत गरेका छन् ।
अध्यक्ष प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकताबाट निर्माण हुने शक्तिले देशलाई नेतृत्व गर्ने, जनतालाई सामाजिक न्याय र आत्मसम्मान दिने, राष्ट्रिय एकता कायम गर्ने विकास, निर्माण र उत्पादनको वृद्धिको अभियान चलाउने सपना रहेको बताउँदै प्रतिगामी र प्रतिक्रियावादीहरुले षडयन्त्रमुलक ढंगले विभाजन गरिदिएको बताएका छन् ।
‘प्रतिगामी प्रतिक्रियावादीको त्यसप्रकारको षडयन्त्रलाई निस्तेज गर्न कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम एकताका लागि हार्दिक अपील गर्दछु ।’ अध्यक्ष प्रचण्डले भनेका छन् ।