वैशाख ३, काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले कर्जाको ब्याजदर घटाएका छन् । बैंक तथा वित्त संस्थाहरुले त्रैमासिक रुपमा आफ्नो बेसरेट परिवर्तन गर्ने गर्दछन् । जसअनुसार वैशाख १ देखि लागु हुने गरि नयाँ बेसरेटअनुसार ब्याजदर सार्वजनिक गरेका हुन् ।
नेपालमा हाल २७ वाणिज्य बैंक, १८ विकास बैंक र २२ वित्त कम्पनी छन् ।
कुनले कति घटाए ?
सार्वजनिक तथ्यांकअनुसार २९ बैंक तथा वित्तिय संस्थामध्ये १३ वटा संस्थाले आफ्नो बेसरेट घटाएका छन् । २९ मध्ये ९ वटा संस्थाले भने पुस मसान्तकै बेसरेटअनुसार ब्याजदर कायम राखेका छन् ।
जसअनुसार नबिल, एनएमबी, मेगा र सनराइज बैंकले ब्याजदर घटाएका छन् । नबिल बैंकले १ प्रतिशतसम्म ब्याजदर घटाएको छ । बचतको ब्याजदरमा १ प्रतिशत घटेपछि १ दशमलव ५१ प्रतिशत राखिएको छ । अधिकतम बचतको ब्याज ३ दशमलव ५१ प्रतिशतमा आएको छ । मुद्दती निक्षेपमा ब्याजदर ६ दशमलव ५१ प्रतिशत छ ।
एनएमबी बैंकले बचतको ब्याजदर १ प्रतिशत घटाएको छ । बचतको ब्याजदर २ देखि ४ प्रतिशत कायम गरिएको छ । मुद्दतीको ब्याजदर अधिकतम ७ प्रतिशतमा झारेको जनाएको छ ।
मेगा बैंकले बचतको ब्याजदर २ प्रतिशतसम्म घटाएको छ । नयाँ वर्षदेखि लागू हुनेगरी सार्वजनिक गरेको ब्याजदरमा बचतको ब्याजदर १ दशमलव ७५ प्रतिशतदेखि ३ दशमलव ५ प्रतिशतसम्म रहनेछ । त्यस्तै, मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर घटाएर ६ दशमलव ७५ प्रतिशतमा झारेको छ ।
सनराइज बैंकले ० दशमलव ५ प्रतिशतले ब्याज घटाएको छ । बचतको ब्याज दुईदेखि ३ दशमलव ५ प्रतिशतमा झारेको छ । मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत राखिएको छ ।
हिमालयन, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट, सेञ्चुरी बैंक, प्रभु बैंक, एनसीसी र सेञ्चुरी बैंकले ब्याजदर यथावत् राखेका छन् । हिमालयन बैंकले बचतको ब्याज २ देखि ४ प्रतिशतमा यथावत् राखेको छ । मुद्दतीको ब्याजदर अधिकतम ७ प्रतिशत छ ।
नेपाल बैंकले बचतमा २ दशमलव ५ देखि ४ प्रतिशत छ भने मुद्दतीमा ७ प्रतिशत ब्याजदर तोकेको छ । माछापुच्छ्रे बैंकले बचतको ब्याजदर २ देखि ४ प्रतिशत दिएको छ भने मुद्दतीको ब्याजदर ७ प्रतिशत तोकेको छ ।
प्रभु बैंकले बचतमा २ देखि ४ प्रतिशत र मुद्दतीमा ७ प्रतिशत ब्याज दिएको छ ।स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचतको २ दशमलव २५ देखि ४ प्रतिशत र मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशत तोकेको छ । एभरेस्ट बैंकले बचतको २ देखि ४ प्रतिशत र मुद्दतीको अधिकतम ब्याज ६ दशमलव ७५ प्रतिशतसम्म दिएको छ ।
सेञ्चुरी कमर्सियल बैंकले बचतमा २ दशमलव ७५ देखि ४ दशमलव ७५ प्रतिशतसम्म र मुद्दतीमा ७ दशमलव ७५ प्रतिशत ब्याज दिएको छ ।नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले बचतको ब्याजदर ३ देखि ५ प्रतिशतसम्म दिएको छ । मुद्दतीको ब्याजमा ८ प्रतिशत दिएको छ ।
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १४:१० मा प्रकाशित






























