
यस्तै छ दाजु । हुन त, तपाईका पनि अनेक बाध्यता होलान् यहाँ फर्केर रमाउन नसक्नुे । तपाईको मान–सम्मान अनि तपाईको बौद्धिकताले यहाँ भन्दा उतै ठाउँ पाएको होला । तर, दाइ किन हो किन दुईदिने चोलामा कसैको पनि परिवार यसरी छुट्टिएर बाँच्नु नपरोस भनेर भगवानसँग प्रार्थना गरेकी छु । जति नै बाध्यता भएपनि जति नै गरिब भएपनि, बाबुआमासँग मिल्न नसकेर छुट्टिएर बसेपनि साँझबिहान बाबुआमाको दैलो कुचेर उहाँहरूको आशिर्वाद लिएर, सञ्चोबिसञ्चो सोधेर, खाए नखाएको सोधेर उहाँहरूको आँसुमा हाँसो ल्याउनु नै जीवनको सार्थकता देख्छु । त्यहि नै जीवनको उपलब्धि लाग्छ दाइ मलाई ।
प्रिय दाजु, अब सम्झनामा मात्र रहे हाम्रा ती बाल्यकाल । तपाई हामी खेल्ने ठाउँ, अनि हामी जन्मेको प्यारो घर आज सुनसान र खण्डहर बनेको छ । बाबुआमाले तपाईलाई र मलाई जन्मदिनु भन्दा अगाडि रातदिन घामपानी नभनि आँफै ढुंगा, माटो बोकेर आफै काठका दलिन बोकेर बसाल्नु भएको थियो, त्यो घरलाई । तर, आज त्यहि घरलाई सम्झेर भक्कानो छोडेर रुँदै भन्नुहुन्छ “त्यहि सेती गाई प्यारी थिइ, त्यसले दिएको दूध पोसिलो थियो, आँगनमा म्याँ–म्याँ गर्दै उफ्रेको बाख्रोको पाठो राम्रो थियो ।
बिहाँनै आँगनभरी आफ्नो किरण छोड्दै उदाउने घामको ताप नै पोशिलो थियो, अनि रापिलो थियो । आँगनमा चुलबुल गरी खेलिरहेका तिमीहरूको बालापन प्यारो थियो । मुटुको टुक्रासरी थियौ तिमीहरू, जहाँ एकछिन तिमीहरूलाई नदेख्दा मनमा पीडा हुन्थ्यो । तिमीहरू कहि कतै छिमेकमा खेल्न गए पनि मन उतै दौडन्थ्यो । तर, आज यो सहरमा उसले बेलायतमा बसेर कमाएको पैसाले ठड्याएको यो चिसो सिमेन्टको सुनसान घरमा केही छैन । केवल तिमीहरूको सम्झना ।”
बाबाको यस्तो कुराले आँखाभरी आँसु बनायो दाजु ! तपाईको परिवार बेलायतमा । यहाँ बाबाको व्यथा बढीरहेको छ । बाबालाई खुट्टाको पिडौँला फर्कन्छ रे । दुई वर्षदेखि मुटु थरथरी काँप्छ भन्दै हुनुहुन्छ । बाबा बिरामी भएर राजधानीको एक अस्पतालमा आइसीयूमा राखेका थियौं । फेरि आमालाई पनि दमको व्यथाले च्याप्यो र फेरि त्यहि अस्पतालमा भर्ना गरायौँ ।
बाबुआमाको आसा र सपना यत्तिमात्र हो दाजु, केवल तपार्इंहरू घरमा आएको देख्न चाहाँने । घरको दैलो तपाइहरुले कुचेको देख्न चाहाने । बाबाआमाको काखमा तपार्इंका छोराछोरी (उहाँहरूका नातिनातिना) लाडिएर खेल्नु । हजुरबाबा हजुरआमा भन्नु । अनि तपाई र भाउजुल,े बाबु-आमाले जसरी तपाई सानो हुँदा कतै लड्यो की, आगोले पोल्यो की, भोकले रोयो की भनेर चिन्तामा पिरोलिनु हुन्थ्यो, हो चर्खारुपि समयले आज फेरि बाबुआमालाई तपाईको बाल्य अबस्थामा ल्याइदिएको छ ।
उहाँहरूलाई तपाईहरूबाट त्यस्तै साथ चाहिएको छ, अहिले । उहाँ भन्नुहुन्छ “हेर नानी, मनले मान्दो रहेनछ अर्काको देश भनेको अर्काको देश हो, म पनि घुमेको छु त्यस्ता देशमा धेरै अनुभव सँगालेको छु । त्यहाँ जति नाम र सम्मान पाएपनि त्यसको महत्व कहिल्यै हुँदैन । विदेशीले जहिले पनि जा भनेर पठाउन सक्छ । त्यसपछि के गर्ने नसम्झेर हुन्छ–आफ्नो घर ? नसम्झेर हुन्छ–आफ्नो परिवार ? ल भन त छोरी । ”
साँच्चै हो दाजु ! तपाईले बाबुआमालाई सहरमा बनाइदिएको घरले कहि कतै मनमा सन्तोष दिएको छैन, उहाँहरूलाई । उहाँहरू जतिखेर पनि आँखाको डिलभरी आँसु बनाएर तपाईको आगमनको प्रतिक्षा गरिरहनु हुन्छ । तपाईको उपस्थिति र हरेक साँझबिहान बाबाआमा, हजुरबाबा, हजुरआमा या त ससुराबुवा, सासुआमा भनेर घरभरी गुञ्जने ध्वनीको प्रतिक्षामा हुनुहन्छ ।
बुबाको सपना तपाइहरु उहाँहरुको वरिपरी बसेर आफ्नो देशको अनि आफ्नो मूलको पानी गर्वसँग पिएको देख्ने ।
गएको दसैंमा म पनि त्यहि पुगेकी थिएँ । घरमा झण्डै पाँच किलो भन्दा बढी खसीको मासु थियो । सेलरोटी पकाउनु भएको थियो, आमाले । थालमा टिका र जमरा राखिएको थियो । तर पनि आमा बाबाको मनमा उज्यालो हाँसो थिएन, कतै खुसी देखिएको थिएन् । “यो बर्ष पनि आउन उसलाई कामले फुर्सद् भएन रे, ती नातिनातिनाले यति ठूलो पारिवारिक पर्व कति विरसिलो गरी मनाएका होलान ? कसरी खुसी साटेका होलान् । बरा, यो वर्षको दशै पनि कति खल्लो भयो हाम्रो लागि” आमा भन्दै हुनुहुन्थ्यो । नातिनातिनालाई सम्झिएर बनेका सेलरोटी साँच्चै राम्रो र मिठो बनाउनु भएको थियो, दाजु, आमाले । मासु सबै पकाउनु भएको थियो । किन यति धेरै पकाउनु भो आमा ? भनेर सोधेको नातिनातिनाको सम्झना आयो रे “उनीहरूलाई खुवाउन नपाएपनि उनीहरूको सम्झनामा घरमा टिका लगाउन आउने गाउँका केटाकेटीलाई खान दिएर चित्त बुझाउँछु” भन्दै कुनातिर फर्केर धरधरी रुनुभयो, आमा । मन थाम्न सकिन । तपाईको अभाव मैले पनि पुरा गर्न सकिन, त्यो अवस्थामा ।
यस्तै छ दाजु । हुन त, तपाईका पनि अनेक बाध्यता होलान् यहाँ फर्केर रमाउन नसक्नुे । तपाईको मान–सम्मान अनि तपाईको बौद्धिकताले यहाँ भन्दा उतै ठाउँ पाएको होला । तर, दाइ किन हो किन दुईदिने चोलामा कसैको पनि परिवार यसरी छुट्टिएर बाँच्नु नपरोस भनेर भगवानसँग प्रार्थना गरेकी छु । जति नै बाध्यता भएपनि जति नै गरिब भएपनि, बाबुआमासँग मिल्न नसकेर छुट्टिएर बसेपनि साँझबिहान बाबुआमाको दैलो कुचेर उहाँहरूको आशिर्वाद लिएर, सञ्चोबिसञ्चो सोधेर, खाए नखाएको सोधेर उहाँहरूको आँसुमा हाँसो ल्याउनु नै जीवनको सार्थकता देख्छु । त्यहि नै जीवनको उपलब्धि लाग्छ दाइ मलाई ।
तपाई अहिलेसम्म विदेश बसेर कमाएको पैसाले यहि ठूलोसानो केही काम गरेर आफ्नै देशको चिसो पानी पिएर, आफ्नो देशको पाखोबारी खनेर मोही र मकैको आँटो सुख गरी खाउँला दाइ, आउनुहोस फर्केर, यहि फर्कनुहोस् । अर्काको देशमा जति पसिना चुहाए पनि, जति रगत दिएपनि त्यो देश आफू जन्मिएको माटो जस्तो र आफ्नो देश जस्तो कहिल्यै आफ्नो हुन सक्तैन ।
जति हेँला गरेपनि, जति पर सरेपनि, जति बेवास्ता गरेपनि आफ्नो देशले कहिल्यै पर जा भन्दैन गर्वसँग दस नङग्रा खियाएर यहि देशमा बाँच्न सकिन्छ, दाइ ।
तपाईकी बहिनी
मधु
हाल : ज्ञानेश्वर, काठमाडौं