
वैशाख १२, काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार सोमबारदेखि नै तीन वटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । पराजुलीका अनुसार ती अत्यावश्यक काम शान्ति-सुरक्षा, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन गर्ने निर्णय भएको छ ।
नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ-संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको उनले जनाए ।
उनका अनुसार सेवा पनि आलोपालो विधिबाट प्रदान गर्ने निर्णय भएको छ ।