
१३ वैशाख, काठमाडौँ । विवाह, बत्रबन्धमा १५ जनाभन्दा बढी सहभागी हुन नपाइने भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख जिल्ला अधिकारीबाट जारी निषेधाज्ञा आदेशमा विवाह ब्रतबन्धमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्न पाइने उल्लेख छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले विश्वभर फैलिँदै गैरहेको नयाँ भेरियन्टको कोभिड १९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा तिब्र रुपमा बढिरहेको भन्दै वैशाख १६ गते बिहान देखि वैशाख २२ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरीएको छ ।
जारी आदेशमा सरकारका कर्मचारी, बैक तथा वित्तिय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीलाई भने कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवात जावात गर्न पाउने जनाइएको छ ।
त्यस्तै संचारकर्मी/पत्रकार सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइने छ ।
सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाका हकमा पनि सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिइ सवारी साधनको प्रयोग गर्न पाइने, अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनका लागि सहजीकरण गरिने बताइएको छ ।
अस्पताल आउने जाने बिरामी र कुरुवा मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनु पर्ने अवस्थाका लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनु पर्दछ ।
काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको व्क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने आदेशमा उल्लेख छ ।
खाद्य र औषधी बाहेक अन्य व्यवसाय बन्द
निषेधाज्ञा अवधिभर खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय भने बन्द गर्नुपर्ने हुन्छ । खाद्य सामग्री पसलहरु व्यवसायहरु बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला हुने जनाइएको छ । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न सकिने छ । ती सबैले व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्दछ ।