back
CTIZAN AD

अन्नबालीमा फौजी कीराको प्रकोप फैलिएपछि किसान समस्यामा

वि.सं.२०७८ वैशाख १९ आइतवार

642 

shares

१९ बैशाख, खोटाङ । असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् ।

केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोपसमेत फैलिएपछि किसान चिन्तित बनेका हुन् ।

फौजी किराले प्रमुख बालीका रूपमा लगाइएको मकैका बिरुवाको मुन्टा, गुभो, पात खाएर नष्ट गरेको छ । मकै उम्रिएर तीन÷चार पात पलाउँदादेखि गोडमेल गर्ने बेला भएको र गोडमेल गरिसकेको बिरुवालाई फौजी किराले नष्ट गर्दा उत्पादन घट्ने र खाद्यान्नमा सङ्कट निम्तिने डरले किसान चिन्तित भएका बताइएको छ ।

असिनापानीका कारण रावाबेँशी गाउँपालिकाको एउटै वडामा लाखौँ मूल्य बरारबको अन्नबालीमा क्षति पुगेको जनाइएको छ । यही वैशाख २ गते परेको असिनाले उक्त गाउँपालिकाको वडा नं ६ हौंचुरको पैयाँमा करीब ५२ हेक्टर क्षेत्रफलमा लगाइएको रु २३ लाख बराबरको अन्नबाली नोक्सान गरेको जनाइएको छ ।

हौंचुरस्थित पैयाँका ३१ घरपरिवारले लगाएका आलु, मकै, गहुँ, जौ, तरकारी तथा फलफूलमा ठूलो क्षति पुर्याएको गाउँपालिकाको कृषि शाखाका संयोजक मुगाधन राईले बताए। असिनाले पुर्याएको क्षतिका विषयमा जानकारी आएपछि गाउँपालिकाको कृषि प्राविधिक टोली स्थलगत अनुगमनमा पैयाँ पुगेको थियो ।

जिल्लाका दश स्थानीय तहमध्ये हालसम्म जन्तेढुङ्गा गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताए। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा फौजी किराको प्रकोप देखिएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार उक्त नगरपालिकामा करीब एक हजार ८००, रावाबेँशीमा ९००, साकेलामा ५००, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४००, ऐँसेलुखर्क गाउँपालिकामा ४०० र केपिलासगढी गाउँपालिकामा २५० रोपनीमा फौजी किराले क्षति पुर्याएको छ ।

यस्तै बराहपोखरी गाउँपालिकामा १५०, खोटेहाङ गाउँपालिकामा १५ र हलेसी तुवाचुङ नगरपालिकामा १० रोपनी जग्गामा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको हो । कतिपय बेँशी क्षेत्रमा मकै छर्न बाँकी रहेकाले फौजी किराबाट प्रभावित क्षेत्र बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । फौजी किरा नियन्त्रणका लागि कार्यालयबाट विनियोजन गरिएको आकस्मिक प्रकोपको बजेटबाट विषादी मगाएर सम्बन्धित स्थानीय तहमा पठाइसकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरे पनि नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुगेको किसानको गुनासो छ । केही वर्षदेखि जिल्लामा प्रकोपकै रुपमा वर्षेनि देखापर्ने फौजी किराले गत वर्ष जिल्लाका अधिकांश स्थानीय तहका किसानले लगाएका अन्नबाली तथा वनजङ्गल नै सखाप पारेको थियो ।

अमेरिकन फौजी किरा भनेर चिनिने धुस्रे किराले २०७७ सालमा अधिकांश स्थानीय तहका बेँशी क्षेत्रका मकै सखाप पारेको थियो । विगतका वर्ष कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहले विषादी खरीद गरेर किसानलाई बाँडे पनि फौजी किराको प्रकोप घट्नुको सट्टा बढिरहेको किसानहरुले बताएका छन् ।

प्रकोप देखिएका क्षेत्रमा विषादी हाल्दा फौजी किरा नियन्त्रणमा आए पनि नयाँ–नयाँ ठाउँमा फैलिने गरेको हलेसी तुवाचुङ नगरपालिकाका कृषक तामन राईले बताए । बेँशी क्षेत्रका खेतबारीमा लगाइएको मकैमा फौजी किराको प्रकोप अधिक देखिए पनि लेकाली क्षेत्रका मकैमा भने यसको प्रकोप देखिएको छैन ।

फौजी किराले खेतबारीमा भएका हरेक अन्नबालीदेखि हरिया घाँसपातसमेत खाने गरेको किसानले बताएका छन् । फौजी किराले खाएको अन्नबाली तथा बोटबिरुवा नबढ्ने र उत्पादन पनि शून्य हुने गरेको बताइएको छ । विषादी लगाउँदा नियन्त्रणमा आउने अवस्था नदेखिएपछि गत वर्ष कतिपय किसानले मकैको बोटबाट फौजी किरा सङ्कलन गरेर कुखुरालाई खुवाएका थिए । कतिपय किसानले भने राति बारीको डिलमा आगो बालेर नियन्त्रणको प्रयास गरेका थिए ।

कृषि क्षेत्रमा राज्यको ठूलो लगानी भए पनि स्थानीयस्तरमा जैविक विषादी तयार पारेर फौजी किरा नियन्त्रण गर्ने प्रयास सफल भएको छैन । जिल्लाका हरेक स्थानीय तहले कृषि उपज उत्पादन तथा निर्यातमा जोड दिने उद्देश्यले कृषि क्षेत्रमा लगानी गरेका छन् ।
रासस

वि.सं.२०७८ वैशाख १९ आइतवार १६:४० मा प्रकाशित

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...