२९, बैशाख, काठमाडौं । देशमा कोभिड(१९ को सङ्कट गहिरिँदै गएकाले अन्तर्राष्ट्रिय सहयोगको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्र्तराष्ट्रिय समुदाय समक्ष आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार ब्रिटेनको ‘द गार्डियन’ पत्रिकामा लेख मार्फत सो अपिल गरेका हुन् ।
प्रधानमन्त्री ओलीले लेख मार्फत धनी राष्ट्रहरूको समूह जी(७ को अहिलेको अध्यक्षको हैसियतले विशेषगरी खोपसहित अरू अत्यावश्यक स्वास्थ्य उपकरण नेपाललाई जुटाउन मद्दत गर्न भनेका छन् ।
उक्त पत्रमा अक्सिजन, आईसीयू र अन्य उपकरण, औषधिहरू, सङ्क्रमणको पहिचानसँग सम्बन्धित उपकरण, कोभिड खोप, पीपीई र अन्य सामग्रीहरू नेपाललाई उपलब्ध गराउन भनिएको छ।
सरकारी अनुरोधमा सातवटा अक्सिजन उत्पादन प्लान्ट, भ्यापराइजरसहितको १० वटा तरल अक्सिजन ट्याङ्क, प्रतिदिन २० टन तरल अक्सिजन र १० हजार वटा अक्सिजन कन्सेन्ट्रेटर ३० दिनभित्र उपलब्ध गराउन अपील गरिएको छ।
त्यसबाहेक ६०,००० थान अक्सिजन सिलिन्डर र ९०० थान भेन्टिलेटर उपलब्ध गराउन पनि आह्वान गरिएको छ। एक महिनाको अवधिमा प्रदेश र केन्द्रमा गरी २,००० आईसीयू बेड स्थापनाका लागि मद्दत गर्न भनिएको छ।
सरकारले १५ दिनभित्र २० लाखभन्दा बढी पीसीआर परीक्षण सामग्री र ११ लाख एन्टिजन परीक्षण सामग्री उपलब्ध गराउन पनि बाह्य विकास साझेदारलाई भनेको छ।
त्यसबाहेक प्राथमिकतामा पर्ने समूहका लागि कोभिड(१९ विरुद्धको खोप उपलब्ध गराउन भनिएको छ। सरकारी पत्रमा ३ करोड ७० लाख मात्रा खोप माग गरिएको छ।
https://www.theguardian.com/commentisfree/2021/may/10/nepal-covid-uk-g7
वि.सं.२०७८ वैशाख २९ बुधवार ११:११ मा प्रकाशित





























