back
CTIZAN AD

मदन भण्डारी एक देश भक्त जननेता

वि.सं.२०७८ जेठ ९ आइतवार

1.5K 

shares

पृष्ठभूमि
क. मदन भण्डारी आज भन्दा ६९ वर्ष अघि ताप्लेजुङ्ग जिल्लाको ढुंगेसागु गा.वि.स. वडा नं. ८ मा जन्मिनु भएको थियो । उहाका पिता पण्डित देवी प्रसाद भण्डारी र माता चन्द्र कला भण्डारी हुनु हुन्छ। उहाको वाल्यकाल त्यही वितेको र उहा बनारसमा पढ्न जानु अघि धनकुटा, तेह्रथुम, ताप्लेजुङ्ग, पाँचथर, भोजपुर, संखुवासभा जस्ता जिल्लामा कम्युनिष्ट पार्टीको प्रभाव त छदै थियो । २०१७ सालमा राजा महेन्द्रले वी.पी.कोइरालाद्वारा नेतृत्व गरिएको जननिर्वाचित सरकार विघटन गरेर सवै दल माथि प्रतिवन्ध लगाए । वी.पी. लगायत सवै दलका नेताहरुलाई जेल हाले । यसको प्रभाव तत्कालिन कम्युनिष्ट पार्टीमा पर्यो । त्यस वेला अविभाजित कम्युनिष्ट पार्टीको महासचिव डा. केशव जंग रायमाझी थिए र उनले राजाको कदमको समर्थन गरे । त्यसवेला केशर जंग रुसमा थिए र उनले तत्कालिन रुसी नेता निकिता ख्रुश्चोवलाई वी.पी. भन्दा राजा देश भक्त प्रगतिशिल भएको बताए । राजाको कदमलाई रुसको समर्थन दिलाउँन प्रयास गरेका थिए तर त्यसवेला भारतको कम्युनिष्ट पार्टीका नेता अस्वघोस मस्कोमा थिए । उनले रायमाझीको भनाईको प्रतिवाद गरेका थिए र मस्कोबाटै तार पठाएर पुष्पलाललाई भूमिगत रुपमा कलकत्ता आउन भने र पुष्पलाल भूमिगत रुपमा कलकत्ता जानु भयो । कलकत्ताबाट राजाको कदमको विरुद्ध वक्तव्य दिनु भयो र संयुक्त आन्दोलन गरेर दल माथिको प्रतिवन्ध हटाउन आह्यवान गर्नु भयो । यसपछि कम्युनिष्ट पार्टीको दरभंगा ल्पेनम हुने भयो । राजाको समर्थन गरेका केशर जंग पनि प्लेनममा आउन राजी भए, दरभंगा प्लेनमले पनि पार्टी एक ढिक्का भएर राजाको कदमको विरुद्ध संघर्षमा जान सकेन । पार्टीमा तीनवटा लाईन आए । क. पुष्पलालले “उहि संसद फिर्ता गर“ तुलसीलाल र रायमाझीले सार्वभौम संसदको चुनाव र मोहन विक्रमले संविधान सभाको चुनावको कार्यनिति पेश गरेका थिए । तर त्यसपछि वहुमत केन्द्रिय सदस्य भएको रायमाझीले पुनः देश भित्र आएर राजाको कदमको समर्थन गर्न पुगे । यसअघि ०१४ सालमा भएको दोश्रो महाअधिवेसनमा क. पुष्पलालले संविधान सभाको निर्वाचनद्वारा नयाँ जनवादी गणतन्त्रात्मक संविधान बनाउने कुरा पेश गर्नु भएको र पारित पनि भएको थियो । तर केन्द्रिय नेतृत्व भने उल्टो रायमाझी समर्थक आए । यो इतिहास भएकाले क. पुष्पलाल र क. तुलसीलालले राजाको कदमको पुनः समर्थन गर्ने रायमाझी लगायतलाई निस्कासन गरी पुनः लोकतन्त्र स्थापना गर्ने आन्दोलन गर्न अन्तरजोनल सामन्जस्य समिति निर्माण गर्नु भयो र बनारसमा कम्युनिष्ट पार्टीको तेश्रो महाधिवेसन गर्नु भयो । यो महाधिवेसनले पनि नेपालको वस्तुस्थिति र आर्थिक व्यवस्था अनुसार प्रतिस्पर्धा सहितको नयाँजनवादी कार्यक्रम पास गर्न सकेन । राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पास गर्यो र तुलसीलाल महासचिव हुनु भयो । यो केन्द्रिय समिति र नेतृत्वले देशमा चिनको साँस्कृतिक क्रान्तिबाट प्रभावित कार्यकर्तालाई समेट्न सकेन । कार्यकर्ता नेतृत्व विहिन भए । आ–आफ्ना क्षेत्रमा साना साना कम्युनिष्ट समुह निर्माण हुन थाले । यसले गर्दा पूर्वमा पनि आ–आफ्नै किसिमले प्रगतिशिल समुह बनाउन थालेका थिए । त्यसवेला पुर्वमा अम्बिका साँवा सूर्य कन्दवा, नन्द कुमार प्रसाई, आनन्द सन्तोषी राई, बाशु शाक्य आदि साथीहरुले माओत्सेतुङ्ग विचारधारा मान्ने कुराको अध्ययन गर्न थालेका थिए । यसै मेसोमा क. मदन भण्डारीले मसँग कुरा गर्नु भए अनुसार २०२४–२५ मा गाउँमा प्रतिशिल समुह निर्माण गर्नु भएको थियो । पछि ०२७ सालमा उहा भारतको वनारसमा पढ्न जानु भयो र सम्पुर्णानन्द संस्कृत विश्वविद्यालयमा भर्ना भएर पढ्न थाल्नु भयो।

क. मदनले पेश गरेको उक्त जनवाद र हालका हाम्रा कम्युनिष्ट साथीहरुको जनवादमा आकाश र जमिनको फरक छ । हाल हामीमा फोहोरको डंगुर भएको संसदमा हामी रुम्मलिएका छौं । उहाले सारा बुर्जुवाहरुले कम्युनिष्टहरुलाई एक दलिय अधिनायकवादी भनेर आरोप लगाएकोले प्रतिपर्धाबाट नै राम्रो काम गरेर जित्ने र समाजबाद निर्माण गर्ने बाटो लिनु मात्र भएको हो ।

पुष्पलाल समुह निर्माण र यो समुहसँग क. मदन भण्डारीको प्रवेशः–
०१९ सालमा भएको तेश्रो महाधिवेसनले बनाएको नेतृत्व र केन्द्रिय समिति सक्रिय भएन, पुनः गुटबन्दी हुन थाल्यो र महासचिव तुलसीलालले मिटिङ्ग बोलाउन छोड्नु भयो र पार्टी प्राय निस्कृय भएपछि त्यस समुहका ६ जना नेताहरु पुष्पलाल, हिक्मत सिंह भण्डारी, एकदेव आले, वलराम उपाध्याय, देवेन्द्र लाल अमात्य र प्रेम प्रकाश नेपालले देशभरका कार्यकर्तासँग भेटघाट र अन्तरक्रिया गरेर २०२५ साल जेष्ठमा मक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ्ग विचारधारालाई मार्गदर्शक सिद्धान्त राखेर नेपाल कम्पुनिष्ट पार्टीको तेश्रो ऐतिहासिक सम्मेलन गर्नु भयो र क्रान्तिकारी पार्टी निर्माण गर्नु भयो । यहि पार्टीका नेता वलराम उपाध्यायसँग एक मेधावी छात्र मदन भण्डारीको भेट भयो । क. बलराम उपाध्यायले त्यो मेधावी छात्र क. मदन भण्डारीलाई क. पुष्पलालसँग भेट गराउँनु भयो । क. पुष्पलालसँग भेट भएपछि क. मदन भण्डारी कम्युनिष्ट पार्टीमा निरन्तर क्रियाशिल हुनु भयो । ०२८ सालमा भएको नेपाल कम्युनिष्ट पार्टीको जन बर्गिय संगठन नेपाली नयाँजनवादी साँस्कृतिक संघको सम्मेलन भयो । त्यो सम्मेलनले युद्ध प्रसाद मिश्र अध्यक्ष, मोदनाथ प्रश्रीत महासचिव, मदन भण्डारी, वोधराज काफ्ले, जीव राज आश्रित, रामचन्द्र भट्टराई, दिल सहानी लगायतलाई केन्द्रिय सदस्य निर्वाचित गर्यो । त्यसवेला क. मदन भण्डरीले लेखेको “हली दाई” भन्ने कविता नेपाली प्रगतिशिल साहित्यको आकाशमा सर्वाधिक चर्चित छ । त्यो हलीदाई कविताले नेपालका हलीहरुले सामन्ती अधिनायकवादी राजाको पंचायती व्यवस्था विरुद्ध विद्रोहको ज्वाला ओकल्नु पर्ने कुराले तत्कालिन अवस्थामा दुन्दुभी मच्याएको थियो । क. मदन भण्डारीले पुर्वमा सुनसरी, मोरङ्ग र सप्तरीमा त्यसवेला क. प्रभुनारायण चौधरी, दुःखिलाल चौधरी, पुण्य प्रसाद आचार्य, राम प्रसाद खनाल, भदेश्वर शाह, हिरालाल चौधरी, दलु छाँया र राधेश्याम दलीसँग मिलेर त्यसवेला विभिन्न गुट र इलाकिय समुहमा विभाजित कम्युनिष्ट क्रान्तिकारीहरुलाई तेश्रो ऐतिहासिक सम्मेलनले चुनेको क. पुष्पलाल लगायतको क्रान्तिकारी नेतृत्व अन्तर्गत पार्टी निर्माण गर्न ठूलो मेहनत गर्नु भएको थियो ।

 क. मदनसँग मेरो पहिलो भेट
सवभन्दा पहिला मलाई क. पुष्पलालसँग दरभंगामा लगेर भेट गराउँने व्यक्ति हुनु हुन्छ, क. तिलक हमाल । ०२८ सालमा सर्वप्रथम मैले क. पुष्पलालसँग क्लास लिन क. तिलक हमालले दरभंगा लानु भएको थियो । त्यसवेला म सिराहा, सप्तरी अन्तरगत कृषि कार्यालयमा जे.टि.ए. थिए । त्यसपछि म काठमाडौं सरुवा भए । काठमाडौंमा क. पुष्पलालले तत्कालिन कृषि कार्यालयमा काम गर्ने गुल्मीका क. गोपाल पोख्रेलको सम्पर्क दिनु भयो र काठमाडौं सरुवा भएपछि तत्कालिन अंचल सचिव गोपाल पोख्रेल अन्तरगत अंचल समितिमा रहेर काम गरियो । त्यसपछि २०२९ सालको नेपाल कम्युनिष्ट पार्टीको चतुर्थ सम्मेलनमा भाग लिन गोपालजी सहित हामीलाई पर्यवेक्षक रुपमा पार्टीले तोकेको थियो। तत्कालिन व्यवस्थाको कडा निगरानीले जान सकिएन र हामी सम्मेलन सकिएपछि पुगेउ तर सम्मेलनका साथीहरु हिडि सक्नुभएको थिएन । बनारसको दशपुत्र गल्लीमा एउटा चिया पसल छ, त्यो पसलमा क. वलराम उपाध्याय, क. पुष्पलाल, क. मोदनाथ प्रश्रीत, क. युद्ध प्रसाद मिश्रसगै क. मदन भण्डारी पनि हुनु हुँदो रहेछ । त्यही भेट र चिनजान भयो । त्यसपछि ३ दिन क. पुष्पलालले दिएको कम्युनिष्ट पार्टीको रणनिती, कार्यनिति, लोकतान्त्रिक व्यवस्थाका लागि सवै दलहरुसँग मिलेर संयुक्त जनआन्दोलन गर्ने कार्यनिति सम्बन्धि क्लास लिएर हामी फर्केउ। त्यसपछि ०३२ सालको विद्यार्थी आन्दोलन अघि बनारसमा कार्यकर्ता भेलामा जाँदा क. मदन पूर्व तर्फ गई सकेको भन्ने भयो । ०३३ को शुरुमा तत्कालिन नयाँजनवादी साँस्कृतिक संघका साथीहरु मोदनाथ प्रश्रीत, जीवराज आश्रितले शसस्त्र संघर्ष गरी हाल्नु पर्ने प्रस्ताव पुष्पलालसँग राख्नु भएको रहेछ । यस अघि पार्टी र महामन्त्रीको सल्लाह वेगर क. केशरमणि पोख्रेलले हर्रेबर्रे काण्ड गरेको कुरा आएको थियो । त्यसपछि क. मदनसँग विराटनगरमा भेट भएको थियो, त्यसवेलासम्म क. पुष्षलालको चौथो सम्मेलनले पास गरेको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिक आन्दोलनसँग जोडेर लानु पर्ने र पंचायत इतरशक्तिलाई गोलबन्द गर्दै संयक्त जनआन्दोलन गर्नु पर्ने लाइनमै क.मदन दृढ हुनुहुन्थ्यो । त्यसपछि काठमाडौंमा हामीसँग शसस्त्र संघर्ष गर्नु पर्दछ भन्ने लाइन पारित गराउँन भेला बोलाउन महामन्त्रीलाई दवाव दिनु पर्दछ भनेर देशका विभिन्न कमिटीका साथीहरु सँग सहि गराउँदै क. जीवराज आश्रित र मोदनाथ प्रश्रीत काठमाडौं पनि आउँनु भयो । हामीले मौखिक भनेउ । तर लिखित नगरौं भनेउ । उहाहरु एक हप्ताको वसाई पछि जानु भयो । त्यसवेलासम्म क. मदन मुक्तिमोर्चा समुह बनाएर पार्टी फुटाउँन पर्दछ भन्ने पक्षमा हुनुहुन्थेन । उहाले ०३३/३/८ मा क. पुष्पलाललाई लेखेको पत्र पढ्दा थाहा लाग्छ । त्यसपछि मेरो एकैचोटी क. मदनसँग २०४० सालमा मात्र भेट भयो । उक्त मुक्तिमोर्चा हुँदै ने.क.पा.माले गठन गरी सक्रिय भई सक्नु भएको रहेछ । यस अघि ०३५ साल श्रावण ७ गते ने.क.पा.का संस्थापक महासचिव पुष्पलालको निधन भई सकेको थियो । पुष्पलालको निधन हुँदा हामी जेलमै थियौं । ०४० सालमा संयुक्त जनआन्दोलन उठान गर्न सहाना भाउजु र म नेपाली कांग्रेसका नेताहरु कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, कम्युनिष्ट नेताहरु मनमोहन अधिकारी, निर्मल लामा, मोहन विक्रम सिंहसँग र तत्कालिन मालेसँग समेत कुरा गर्ने निर्णय अनुरुप सवैसँग कुरा गर्दै थियौं र त्यस अवस्थामा तत्कालिन माले समुहसँग कुरा गर्न सम्पर्क शुत्र मार्फत अगाडी बढाईयो र क. जिवराज आश्रीत र क. मदन भण्डारीसँग ०४० सालमा भेट भयो । त्यसवेला दुवै नेताले सामन्ती अधिनयकवादी व्यवस्था विरुद्ध नेपाली कांग्रेस सहितलाई साथै लिएर आन्दोलन गर्ने कुरामा सहमति जनाएर हिड्नु भयो तर ०४२ सालको सत्याग्रहमा माले समुह संयुक्त सत्याग्रह गर्न आएन । एकल सात्याग्रहमा पनि भाग लिएन । शायद त्यसवेला उहाँहरुको नेतृत्व स्थापित भएको थिएन होला । तर ०४६ सालको तत्कालिन मालेको सिराहमा भएको चौथो महाधिवेसन अघि हामीलाई पनि सहभागीता गराउँन क. जिवराज र क.मदन आउन भयो हामीसँग कुरा गर्न तर हामी गएनौं । ०४६ सालमा उहा मालेको महासचिव हुनु भएपछि संयुक्त जन आन्दोलनको क. पुष्पलालको पंचायत फ्याँक्ने कार्यनिति पास गराउँनु भएछ र ०४६ सालको गणेशमान सिंहको नेतृत्वमा भएको जन आन्दोलनमा क. सहानालाई बाम मोर्चको अध्यक्ष बनाएर निर्णयाक आन्दोलन गर्ने पहल क. मदन भण्डारीले लिनु भयो । यस अघि गणेशमान सिंह र मदन भण्डारी र जिवराज आश्रीतसँग निर्णायक जनआन्दोलनमा जान भूमिगतवार्ता हाम्रै पहलमा भएको थियो । क. मदन भण्डारी भुमिगत रुपमा काठमाडौंमा आउँदा मेरै घर डेरामा पनि वस्नु हुन्थ्यो । मेरा छोरीहरु र मेरी श्रीमति सावित्री भट्टराईसँग अत्यन्तै राम्रो सम्बन्ध थियो । ०४६ सालको जन आन्दोलन पछिको संविधान निर्माण र त्यो संविधानमा अपुग २७ बुँदा राखेर आलोचनत्मक समर्थन जस्ता मक्र्सवादी द्धन्द्धवादी निर्णय लिनु भयो जो क. पुष्पलालको संयुक्त जनआन्दोलनको कार्यनितिसँग मेल खान्थ्यो । ०४८ सालको प्रतिनिधि सभाको चुनावमा सहाना भाउजु र क. मदन भण्डारी मेरो घरमा चिया खाएर राष्ट्रिय सभा गृहमा प्रतिनिधि सभाको उमेम्द्धवारी दिनु जानु भएको थियो । त्यसवेला क. मदनको प्रस्तावक मेरी श्रीमती सावित्री भट्टराई थिइन । ०४९ सालको माले/मार्कसवादी एकिकरण पछिको महाधिवेसनमा जनताको वहुदलिय जनवाद उहाले पेश गर्नु भयो र पास भयो । क. मदनले पेश गरेको उक्त जनवाद र हालका हाम्रा कम्युनिष्ट साथीहरुको जनवादमा आकाश र जमिनको फरक छ । हाल हामीमा फोहोरको डंगुर भएको संसदमा हामी रुम्मलिएका छौं । उहाले सारा बुर्जुवाहरुले कम्युनिष्टहरुलाई एक दलिय अधिनायकवादी भनेर आरोप लगाएकोले प्रतिपर्धाबाट नै राम्रो काम गरेर जित्ने र समाजबाद निर्माण गर्ने बाटो लिनु मात्र भएको हो । नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा पनि क्रान्तिकारी संसद निर्माण गर्ने कुरा उल्लेख छ । त्यसलाई क. मदनले सम्मानजनक रुपले उल्लेख गर्नुभएको छ । उहाको सादा जिवन र उच्च विचार शैलीलाई आजका साथीहरुले पच्छ्याए सबभन्दा असल हुन्थ्यो । देशभक्त महान राष्ट्रवादी असल राजनेतालाई सम्झदा र उहाको सादा जिवन र उच्च विचारलाई हामीले राष्ट्र निर्माणमा लगाउँ । महत्वकांक्षाले हाल कम्युनिष्ट आन्दोलनमा विचलन आउन लागेको छ । हामीले उहालाई सम्झदा आफुभित्रका नकारत्मक कुरा फ्याकौं र सकारात्मक सोच मात्र अघि बढाउँ । यसले मात्र कम्युनिष्ट आन्दोलन लोकतन्त्र र समाजवादलाई अगाडी बढाउँछ । हार्दिक श्रद्धान्जली ।

(मदन भण्डारीको २८ औं स्मृति दिवसका सन्दर्भमा लेखिएकाे हाे )

 

वि.सं.२०७८ जेठ ९ आइतवार १८:०० मा प्रकाशित

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

हरेक वर्ष ज्येष्ठ १५ गतेको सुनौलो बिहानीसँगै नेपाली जनताको स्मृतिमा...

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...