एउटा वोर्डमा आँखा प¥योः ‘Road closed, Works at progress’
धेरैबेर आँखा गड्यो वोर्डमा । जीवन र नियति जस्तै…। केही प्रगति भइरहेको तर तत्काललाई अपेक्षित बाटो बन्द भइरहेझैँ अनुभूति मिल्यो । म जस्तै ऊ । ऊ झैँ… हामीहरु । अनि हामीहरु सबैको जस्तै अवस्था र प्रसंगमा ठोक्किन पुगेँ म ।
पहिले नांगा थिए पाइताला । क्रमशः जुत्ता चप्पल हुँदै अग्लिने लालसाको ‘हिल’ले ‘एक्सिलेटर’ थिच्न पाएको छ यतिखेर । तर गन्तव्य उही कलंकी–कोटेश्वरको जाममा फसेको छ । चीसो हुँदा तातोका लागि एसी चलाइएला केहीबेर । दुर्भाग्य तातोपनाको वृद्धिले वाफिन्छ र छेकिन्छ सडक जस्तै सोच पनि । कति पुछ्नु कल्पित र अपेक्षित खोजीमा ऐनालाई ।
पत्रकार मित्र मुकुन्द सुवेदीले अप्रत्यासित भेटिनासाथ भने– ‘दाजु ! नलेख्नु न त्यसरी, मनै कुँड्याउने गरी ।’ आर्द्र मन मस्तिष्कलाई रोकेँ केहीवेर । तर आँखाले रोक्न सकेन आँसु । यही आँसुले त रहेछ जीवन र जगत्को चक्र चलाउन मोविल र ग्रिजको काम गर्ने ।
हज्जारौं मान्छेलाई भेटेँ हिजो आर्यघाटमा । मसान वैराग्यमा सबैको निचोड थियो– ‘आखिर लग्नु केही छैन ।’ दुर्भाग्य जसै हामी बाहिँरिँदै थियौं पशुपति परिसरबाट । थुप्रै मान्छेहरुले ‘पे–पार्किङ’मा पैसाको वार्गेनिङ गर्दै थिए । गौशाला चौक पुग्दा नपुग्दै तँछाडमछाड शुरु भइहाल्यो ।
हो, यस्तै हो जीवनको ‘भयावह’ सत्यलाई मृत्युले कोर्रा मात्रै हान्ने रहेछ , त्यसलाई ‘ट्रयाक’मा ल्याउन सक्दोरहेनछ । मृत्युले हाम्रो जीवनलाई सधैँ एउटा न एउटा गृहकार्य दिएर गएको हुन्छ, तर हामी त्यसलाई डायरीमा टिपेर राख्नुको सट्टा विर्सेर लालसाकै पाठ घोकिरहेका हुन्छौं । आमाको ममतामयी थप्पड जस्तो मात्रै रहेछ–मृत्यु । एक्कैछिन् दुख्छ, बिझ्छ र अँध्यारिन्छौं हामी । अन्यथा हामीलाई फुर्सद नै छैन– थप्पडको चोटमाथि आ–आफ्ना कमजोरी र खोट सम्झेर त्यसलाई सच्याउने ।
फेरि अर्को बोर्डमा आँखा प¥योः No Horn Please ! यतिखेर परिवेश कर्कश हर्न बजाएर तँछाडमछाड गरिरहेको देखिन्थ्यो । मैले भन्ने परेन– ‘हामी आफैले आ–आफ्ना अनुशासनलाई भंग गराएर विश्रृंखलाको तरंग भित्र्याएका हौं ।’
वि.सं.२०७३ माघ २६ बुधवार ०८:३५ मा प्रकाशित