१२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारतका आफ्ना समकक्षीसँग नेपालका लागि कोरोना भाइरसविरुद्धको खोपमा सहजीकरण गरिदिन अनुरोध गरेकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवस्यक पर्ने कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि सहजीकरण गरिदिन अनुरोध गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले टेलिफोनमार्फत् बुधबार चीनका राष्ट्रपतिलाई नेपाली जनताको जीवन रक्षा आफ्नो पहिलो दायित्व भएकोले आवस्यक पर्ने मात्रामा खोप खरिद गर्न नेपाल इच्छुक रहेको र उक्त प्रक्रियामा सहयोग गरिदिन अनुरोध गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिउत्तरमा चिनिया राष्ट्रपतिले नेपाल आफ्नो अभिन्न मित्र रहेकोले सहयोगका लागि अधिकारीहरुसँग छलफल गर्ने जवाफ दिएको समेत राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले जानकारी दिएका छन् ।
उक्त वार्तापछि चीनले तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको बताइएको छ । चीनले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने बताइएको छ । नेपालमा यसअघि पनि कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाइएको थियो ।
त्यसैगरी राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी भारतका राष्ट्रपति रामनाथ कोविदलाई पनि मंगलबार पत्राचार गर्दै खोप सहजताको लागि अनुरोध गरेकी छन् ।
संचार विज्ञ ढकालका अनुसार पत्रमा भारतसँग पहिले नेपालले शुल्क तिरिसकेको र आउन बाँकी रहेको खोप पठाउन तथा नयाँ खरिदका लागि सहजीकरण गरिदिन अनुरोध गरिएको हो ।
वि.सं.२०७८ जेठ १२ बुधवार १८:२६ मा प्रकाशित






























