१४ जेठ, काठमाडौँ । कोरोनाको उत्पत्तिबारे थप अनुसन्धान गर्ने अमेरिकी निर्णयप्रति चीनले आपत्ति जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड १९ को उत्पत्ती चिनियाँ प्रयोगशालाबाट भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट पेश गर्न गुप्तचरलाई निर्देशन दिएपछि आपत्ति जनाएको हाे ।
प्रतिक्रियाका रुपमा चीनले ‘यू.एस. प्रतिस्पर्धा नीति मूल रूपमा टकराव’ भएको बताएको चिनिया संचारसंस्था ‘ग्लोबल टाइम्स’ले जनाएको छ ।
वाल स्ट्रिट जर्नलले चिनियाँ प्रयोगशालाबाटै कोरोना भाइरस फैलिएको दावी गरेको खबर छापिएसँगै जो बाइडेनले थप अनुसन्धानका लागि निर्देशन दिएका थिए ।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको भन्ने खबर बीबीसीले छापेकाे छ ।
चीनले कोभिड– १९ र चीनको वुहान शहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यसै वर्षको स्थलगत अध्ययनपछि यस भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको टिप्पणी गरेको थियो।
अमेरिकी वैज्ञानिकहरुले भने यो भाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबी गर्दै आएका छन् ।
कोरोना चिनिया ल्याबबाटै फैलिएको दाबी,अनुसन्धान बढाउन बाइडेनको निर्देशन
वि.सं.२०७८ जेठ १४ शुक्रवार ०९:३४ मा प्रकाशित




























