जेठ १६, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिदामा बस्न सुझाब आएको छ । प्रतिनिधि सभा विघटनविरुद्व परेका रिटमाथि संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भू थापाले उनलाई यस्तो सुझाब दिएका हुन् ।
संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठमाथि उठेको प्रश्नमा जवाफ दिनेक्रममा प्रधानन्यायाधीश राणाले आफ्नो विकल्प दिन भनेका थिए । जसको जवाफ दिँदै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश राणाालाई बिदामा बस्न सुझाएका हुन् ।
राणाको प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, ‘उहाँको विकल्प नभएको होइन। यहाँसम्म नेकपा विवादबाटै आएको हो। आज यहाँ माधव नेपाल, पुष्पकमल दाहाल निवेदक भएर आएका छन्। प्रश्न कहाँ–कहाँ आयो भन्ने फरक कुरा हो ।’
उनले भारतमा भएको उदाहरण दिँदै बिदामा बस्न सुझाब दिए । उनले भनेका छन्, ‘भारतमा न्यायाधीश दीपक मिश्रमाथि पनि प्रश्न आएपछि आफूबाहेक राखेर इजलास गठन गरेर फैसला भएको थियो। फैसला चाहिन्छ भने म दिन्छु। प्रन्यालाई अधिकार छ। तपाईंको विकल्प के छ भन्नुभयो, बिदामा बस्नुस्।’
अधिवक्ता थापाले प्रतिनिधि सभा पुनःस्थापना गराउने फागुन ११ गतेको फैसला र नेकपा विभाजन गर्ने फागुन २३ को फैसला नमिलेको तर्क गरेका थिए ।
वि.सं.२०७८ जेठ १६ आइतवार १४:०५ मा प्रकाशित






























