जेठ १९, काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा (एमाले)मा फेरि सक्रियता बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच प्रत्यक्ष भेटवार्ता नभए पनि दुवै पक्षका नेताहरुबीच भेटवार्ता बाक्लिएको छ ।
यसै शिलशिलामा पार्टी महासचिव इश्वर पोखरेल र सचिव योगेश भट्टराईबीच भेटवार्ता भएको छ । दुई नेताबीच उपप्रधानमन्त्री पोखरेलको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता भएको हो ।
दुई नेताबीच पार्टीलाई विभाजनबाट जोगाउन गर्न सकिने उपायबारे छलफल भएको बताइएको छ । बताइएअनुसार छलफलमा कुनै निष्कर्ष भने निस्किएको छैन् ।
यसअघि सोमबार राती ओली पक्षीय नेता र माधव नेपाल पक्षीय नेताहरुबीच झण्डै ४ घण्टासम्म छलफल चलेको थियो । पछिल्लो समय दुवै पक्षका दोस्रो तहका नेताहरु विवाद समाधानको उपायमा छलफल गर्न सक्रिय देखिएका छन् ।
एमालेमा माधव पक्षले ओली पक्षले गरेका सबै निर्णयहरु खारेज गर्दै ०७५ जेठ २ कै अवस्थामा फर्कनुपर्ने माग राख्दै आएको छ । उक्त मागमा सहमती जनाएअनुसार ओली पक्षले थप निर्णयहरु गर्दै जाँदा विवाद बढ्दै गएको छ ।
सम्बन्धित समाचार
वि.सं.२०७८ जेठ १९ बुधवार १७:२९ मा प्रकाशित






























