जेठ २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहबीच मन्त्रालय बाँडफाँडमा सहमती भएको छ । ओलीले उपप्रधानसहित माओवादी केन्द्रले लिएका मन्त्रालयहरु ठाकुर समूहलाई दिने सहमती गरेका छन् ।
सहमतीअनुसार राजेन्द्र महतोको नेतृत्वमा ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ । महतोलाई उपप्रधानसहित शहरी विकास मन्त्रीको जिम्मेवारी दिइएकाे छ ।
त्यस्तै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्रीमा शरदसिंह भण्डारी, खानेपानी तथा सरसफाई मन्त्रीमा अनिल झा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा लक्ष्मणलाल कर्ण बन्ने भएका छन् ।
त्यस्तै विमल श्रीवास्तव श्रम, रोजगार, तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।
यस्तै, चन्द्रकान्त चौधरी ऊर्जाराज्य मन्त्री र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बन्नेछन्।
यसअघि जसपाले माओवादी केन्द्रले लिएका गृहसहितका मन्त्रालयहरु आफुँले पाउनुपर्ने माग गर्दै आएको थियो । तर, ओलीले गृह दिन भने अस्वीकार गरेका छन् ।
दुई पक्षबीच केहि दिनदेखि लगातार मन्त्रालय बाँडफाँडका विषयमा वार्ता हुँदै आएको थियो । जसमा ठाकुर समूहले गृहको अडान राखेको थियो । बिहिबार राती र शुक्रबार दिउँसो भएको वार्ताले मन्त्रालय बाँडफाँडमा निकास दिएको हो ।
उनीहरूले साँझ ६ बजे शपथ लिने तय भएको छ।
वि.सं.२०७८ जेठ २१ शुक्रवार १७:१० मा प्रकाशित






























