जेठ २८, काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समयसीमा दिँदै मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् ।
पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाको समयसीमा दिँदै नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।
गठबन्धनसँग स्पष्ट बहुमत
सरकार गठनको आव्हानप्रति विपक्षी दलहरु उत्साहित भएका छन् । प्रदेशसभामा विपक्षी गठबन्धन अनुकुल अंकगणित बनेसँगै उनीहरु उत्साहित भएका हुन् ।
५९ सदस्यीय (राजमो सांसद कृष्ण थापालाई कारबाही पछि) प्रदेशसभामा बहुमत पुर्याउन ३० सांसदको समर्थन आवश्यक हुन्छ । मुख्यमन्त्री गुरुङ्गले विश्वासको मत लिने प्रयोजनका लागि अगाडि सारेको प्रस्तावमा पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो । विपक्षी दलहरुले सोही आधारमा आफुँहरुसँग ३० मत रहेको दाबी गरेका छन् ।
प्रदेशसभामा नेपाली कांग्रेससँग १५, माओवादी केन्द्रसँग ११, राष्ट्रिय जनमोर्चासँग २ र जसपासँग २ मत छ । स्वतन्त्र भनिएका सांसद राजीव गुरुङ्ग उर्फ दीपक मनाङ्गले पनि विपक्षीलाई नै सघाउने तयारीमा छन् ।
यसअघि दीपक मनाङे विपक्षी गठबन्धनलाई सघाउने घोषणा गरेर विश्वासको मत दिन गएका थिएनन्। मनाङेको समर्थनबाट विपक्षी गठबन्धनलाई आवश्यक बहुमत ३१ पुग्छ।
प्रदेशमा विपक्षी गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।
सम्बन्धित समाचार
वि.सं.२०७८ जेठ २८ शुक्रवार १६:५३ मा प्रकाशित






























