२८ जेठ, काठमाडौँ । विवादकै बीच झापास्थित बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने निर्णय गरिएको छ ।
चिकित्सा शिक्षा आयोगको आज बसेको बैठकले बीएण्डसी मेडिकल कलेजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय गरेको हो ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको हो ।
प्रधानमन्त्रीको ठाडो निर्देशनमा ऐन नियमअनुसारको प्रावधान पूरा नगरेको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय भएको बताइएको छ । प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐनले तोकेको कानुनी प्रक्रिया पूरा गरेको अवस्थामा सम्बन्धन दिन आयोगलाई निर्देशन दिएका थिए । राष्ट्रिय चिकित्सा शिक्षा ऐनले सिफारिस गरेसँगै काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिनेछ ।
बीएण्डसीले २०७३ सालमा सम्बन्धन प्राप्तिका लागि केयूमा निवेदन पेश गरेको थियो ।
चिकित्सा शिक्षा ऐन जारी हुनु र आयोग बन्नुअघि नै आशयपत्र लिएकाले ऐनको प्रावधान लागू नहुने कलेज सञ्चालक दुर्गा प्रसाइले बताउँदै आएका छन् ।अहिलेसम्म काठमाडौं विश्वविद्यालयले १२ वटा मेडिकल कलेज र त्रिभुवन विश्वविद्यालयले सात वटा मेडिकल कलेज सञ्चालनका लागि स्वीकृति दिइसकेका छन् ।
वि.सं.२०७८ जेठ २८ शुक्रवार २०:४२ मा प्रकाशित






























