गैरीघरे ठूलाबाले
भर्लाका पातहरु छापेर बुनेको,
मान्द्रिलो घुम ओडेर
जब म दाँदे लगाउँदै
पुग्छु खेतको खले गह्रामा ।
तिमी पनि उस्तै घुम ओडेर
अर्को गह्राबाट,
रोपिरहँदा धानका गाँजहरु
छुपुछुपु साथीसंगीहरुसँग
‘ए… हा..हा छुपु र छुपु धानैमा रोप्नु……’
असारे गीत गाउँदै ।
म तिमीलाई नै पर्खिरहन्छु ।
उहीँ खले गह्रामा
जब तिम्रो पनि मेलो आईपुग्छ,
त्यही खले गह्रामा
भकारी बाँधौला
सिमेभूमे, देवी देउराली भाकेर ।
अन्नको सह मागौंला,
हली, बाउसे, रोपाहार सबै मिलेर ।
बर्षदिनका लागि उब्जनीको
अग्रिम प्रार्थना गरौंला ।
हिलो टिपी तिम्रा सुन्दर गालाहरुमा,
छ्याप्प लगाई असार जनाउँला ।
तिम्ले पनि उसैगरि
हिलो छ्यापिदिनु सट्टामा ।
सम्झिरहेछु,
कति आनन्ददायी स्पर्शहरु
त्यसैले त यो बर्ष,
भेटौं रोपाईंमा ।
दिनको मध्यान्हसँगै,
निभाराका पातहरु गाँसी बनाईएको
सुन्दर टपरीहरुमा
दोपहरे खाँदा,
साथीसंगीहरु आफ्नै सुरमा
एकोहोरो दोपहरे खाईरहँदा ।
म भने खाजाका प्रत्येक गाँसहरुसँगै,
छड्के नजरले तिम्रा नयनहरु नियालिरहुँला ।
असारे झरीले निथ्रुक्क भिजेका
हिलाम्य तिम्रा शरीर ।
वास्तविकता भन्दा धेरै पर
कल्पनाको महासागरभित्र,
सुन्दर भविष्यको परिकल्पना गर्दै,
खुल्ला आकाश अनि अनियन्त्रित
मन मस्तिष्कहरुलाई उडाईरहुँला ।
जब तिमी पनि मुस्कुराउँछौ उसैगरि,
महशुश गर्छु शीतल बहार, माया अनि प्यार
सम्झिरहेछु,
कति शीतलप्रदायक नयनहरु,
त्यसैले त यो असार,
भेटौं रोपाईंमा ।
सिरसिर बताससँगै
बयेली खेलिरहेका रोपेका धान
जब अन्तिम गाज रोपिसकेर
निस्कन्छौ हिलोबाट,
सुस्तरी…….सुस्तरी
लजालु तिम्रा मुस्कान
राख्छु म प्रेमप्रस्ताव ।
सुन्दर भावनामिश्रित सम्बन्ध,
अनि पो माया प्यार ।
मायाको सतही अभिनयभन्दा,
टाडा मन,मुटु, माया संसार ।
गड्गडाईरहन्छ आकाश,
झर्झराईरहन्छ झरी
कहिले दर्के त कहिले सिमसिम
चरक्क घामको किरण
परिणाम सप्तरङ्गी ईन्द्रेणी
ढल्किंदो दिन, हिलाम्य शरीर ।
सातरङ्गको सुन्दरता,
लखतरान जीउज्यान ।
सिरसिर बताससँगै
बयेली खेलिरहेका रोपेका धान
जब अन्तिम गाज रोपिसकेर
निस्कन्छौ हिलोबाट,
सुस्तरी…….सुस्तरी
लजालु तिम्रा मुस्कान
राख्छु म प्रेमप्रस्ताव ।
पर्दैन तत्काल स्वीकार ।
निकोर्सीका दिन खेतका आलीहरुमा,
मासदाल रोप्ने दिनको भेटमा
आशा गर्छु प्रेमको स्विकार ।
सकरात्मक निर्णय ।
बाँचुञ्जेलका लागि, जुनीजुनीका लागि ।
यति गहन प्रस्ताव अनि निर्णय,
सम्झिरहेछु, कल्पिरहेछु ।
कति सुन्दर सपनाहरु ।
त्यसैले त त्यो दिन अवश्य,
भेटौं रोपाईंमा ।
,
वि.सं.२०७८ जेठ २९ शनिवार ०६:४१ मा प्रकाशित






























