back
CTIZAN AD

कथाः भावी श्रीमती

वि.सं.२०७८ जेठ २९ शनिवार

1.3K 

shares

त्यसै त म परिवारको कान्छो छोरो,मेरो बिबाह गर्ने उमेरको मापदण्ड पनि राज्यले घोषणा गरिदिएभन्दा पाँच–छ वर्ष पार भइसकेको थियो ।

आमाको अन्तिम ईच्छामा अल्झिएको मेरो बिबाहको पासो ।

बाको ब्यबहार छिलिङ्ग्याउन अल्मलिएको संसारिक बन्धनको मुक्ति ।

साथीभाइ, दौतरीको हाँसो ठट्टाको विषय होस् या दिदीबहिनीहरुको पर्व समानको मेरो बिबाहको प्रसङ्गले दिनदुगुना रात चौगुनाको रुपमा तिब्रता पाइरहेको थियो । हरेक साँझको खानापछि परिवारको पहिलो वहस मेरै बिबाहको हुने गथ्र्यो ।

नयाँ आगन्तुक परपाहुँना, ईष्टमित्र छरछिमेक, चिरपरिचित सबैको बोली मेरै बिबाहको प्रसङ्गबाट विस्तार भएर टुङ्गिन्थ्यो । पहिले पहिले त अँ ! अहिल्यै कहाँ बिहा गर्ने भनेर टार्थे ।

हिजोआज टारेर नटर्ने अप्ठ्यारोमा म पुगिसकेको थिएँ । आजभोलि चाहिँ मैले बिबाह गर्नै पर्ने हो त, भनेर म तर्सिन थालिसकें । सबैको कुरालाई हाँसो ठट्टामा उत्तर दिएर जब म कोठामा पुगिसकेको हुन्थे, संभावित कल्पनाले थिचिएर निदाउन सक्दैनथे । म मीठो निद्रा ननिदाएको धेरै भइसकेको थियो ।

अन्ततःमैले बिया गर्नैपर्ने छ तर कस्ती ?

आफ्ना साथीभाइ, दौतरीका श्रीमती कल्पनामा ल्याएर अनुमान लगाउन थालें । उनीहरुको शिल– स्वभाव, रहनसहन, बोलिचालि पटक्कै चित्त बुझेन । मेरो भित्र कताकताबाट आबाज निस्कियो–
‘अहँ ! म बिबाह गर्दै गर्दिनं ।’

बिबाह नगरी नहुने बाध्यताको कारण म निदाउन नसकेको धेरै रात भइसकेको थियो । आजपनि मलाई निदाउन सकुँला जस्तो लागेको थिएन । कोठामा पस्ने बित्तिकै छरछिमेक, चिरपरिचितका स्त्री आकृति एकएक गरेर आँखामा ठोकिन आए । कुनै स्त्रीको पनि आकृति,ब्यवहार, स्वभाव बोलिचाली भेषभुषा मलाई पटक्कै मन परेन । जसलाई गहिरिएर सम्झियो, डरले जीउ नै कोपेजस्तो, काँपेजस्तो हुनथाल्थ्यो । रोक्दा रोक्दै आवाज निस्किन्थ्यो –‘अहँ म बिबाह गर्दिनं !’

मलाई केही दिनदेखि बिबाहको भूतले अलि बढी नै तर्साउन थालेको थियो । म एक्लै एक्लै बोलिरहन्थें –‘म कस्ती केटीसंग बिबाह गर्ने ?’

यताका सम्झ्यो । उताका सम्झ्यो । मलाई कुनै स्त्री जाति नै मन पर्दैनथ्यो । यसो हुँदाहुँदै पनि भावी श्रीमती कस्ती होली भनेर कल्पनामा चाहिँ डुबी रहन्थें ।

मेरो कल्पनामा फेरि साथी भाइका, छरछिमेकका स्त्रीहरु दोहोरिन थाले । ती सबै नारी आकृति नियालेर बिचार गरें । कुनै नारीको आकृति व्यवहार, रुपरङ्गले मलाई छुन सकेन ।

किन म भित्रको पुरुषले किन नारी आकृति ,नारी चरित्र रुचाउदैन ?
मआफैसंग प्रश्न सोध्न थालें । कतै म तेस्रो …!
होइन !
होइन ! त्यस मामिलामा म ढुक्क थिएँ ।

म पुर्ण पुरुष त हुँ तर मलाई स्त्री जाति, स्त्री आचरण किन किन मनै पर्दैन । मभित्रको पुरुष अहंमले कस्ती नारी भेट्ला खै ? म आफैसंग निरास हुन थालेको थिएँ । मेरो मनभित्र पस्न सक्ने स्त्री त्यो कहाँ छ ?
कस्ती छ ?
म भावी श्रीमतीको कल्पनामा धेरै दिनदेखि डुवी रहें । कल्पनामा उतारेर जस्लाई हेरेपनि, कुनैपनि नारी मन नपरेपछि म कैयौंपटक निरासाले पसिनै पसिना भएको थिएँ ।

म निदाउन सकेको थिइनं ।
उस्स !
सायद! भोलि बिहान चियासंगसंगै मेरै बिबाहको कुरा सबैलाई खाजा बन्नेछ ।
भोलि नभए पर्सीको कुनैदिन मैलें हँ, भन्नै पर्नेछ । बिबाह त गर्नै पर्ने छ ।

‘कस्ती स्त्री मेरो श्रीमती हुने होली त !’

मेरो मन आधारातभन्दा बढी नै बिबाहको भूमरीमा घुमिरह्यो । स्कुलदेखि कलेज सम्मका सहपाठी सम्झिएँ ।
अफिसका स्टाफ सम्झिएँ ।
साथीभाइका श्रीमती सम्झिएँ ।
दिदीबहिनीका संङ्गीसाथी पनि कल्पनामा ल्याएँ । मेरोकोठा परिचित कल्पनाका नारी आकृतिले खचाखच भरियो । युवती देखि प्रौढसम्मका कुनैपनि स्त्री आकृति तुलनामा ल्याउदा मन ढुक्क हुन सकेन । जुनै स्त्री कल्पनामा उतारेर हेर्दापनि मेरो मनले आफूसरह ठिकै छ भन्न सकेन । म झन् झन् निसासिन थालें ।

‘कस्ती स्त्रीसंग मैलें बिबाह गर्ने होला ?’

विद्यमान समाजको संस्कारमा लपेटिएका स्त्री जातिहरु सम्झेर म तर्सिन थालें । स्त्री जातिको जमात सम्झिएर म पसिनै पसिना भएँ ।

जति नै नरुचाएपनि परिवारको खुसीको लागि भएपनि मैले बिबाह त गर्नै पर्ने छ । म कल्पनामै उकुसमुकुस भएँ ।

‘ हे भगवान !’

अध्यारो कोठाभित्र अरुचिका स्त्री आकृतिहरुका कल्पनाले निसासिदा मैले आमालाई झ्वाट्ट सम्झिएँ । आमाले भनेका कुराहरुपनि सम्झिएँ । आमा भन्नू हुन्थ्यो –‘कान्छा कति केटी छान्छस् ?’

‘धेरै केटी रोज्दा खौलामा परिन्च बा !’
‘हेर त सारदा भाउजू ऊ केमा कम्ति छ ?’

सारदाकी बैनी बिया अरे, नि हुनी,क्या कान्छा !’

‘सारदा भाउजूभन्दा कम्ता छैन, तैले तेत्तिकै अरु फेला पार्न सौतैनस् !’

मैले सबै नारीहरु कल्पनाबाट हटाएर सारदा भाउजूलाई सम्झिन थालें ।
सोझी ।
काँतर ।
कालो बस्तुलाई सेतो छ !
भनेर चर्को स्वर गरेर बोल्ने हो भने, अँ बाबू सेतै हो भनेर स्वीकार गर्ने ।
आफुले नगरेको गल्ती पनि मलाई भन्छन् भनेर लगलग काप्ने ।
व्रत बस्न र पूजा गर्नमा डिग्री गरेकी ।
भोक लाग्यो भन्न नसक्ने ।
दुःख भयो भन्न नसक्ने ।
घरधन्दामै खटिरहने ।
दाजुको डसाइ सहिरहने ।
‘उनैकी बहिनी !’
उस्स !

जीवन जी ! मेरो भागमा बाआमा पर्नु पर्छ । प्रत्येक दिन मलाई उहाँहरुको आशिर्वाद चाहिन्छ ।’
‘फेरि जेष्ठ नागरिक घरका गहना हुन् ।’
‘समाजका रत्न हुन् ।’
‘जीवित इतिहास हुन् ।’
‘यिनीहरूको सेवा र सम्मान गर्नुपर्छ भनेर मैलें यो पुस्तालाई बोध गराउनु छ ।’

जीवन जी ! अर्को भन्नै पर्ने कुरा के छ भने –
‘मैले मेरो सन्तानलाई स्कुले कोरा शिक्षाभन्दा सामाजिक, पारिवारिक, नैतिक र मानविय सेवा, आपसी मित्रता देश प्रेमको बारेमा सिकाउने छु । यस कुरामा मलाई तपाईंको साथ चाहिन्छ ।’

 

दिदीको घरमा आउँदापनि रातदिन उँही दिदीको पछिपछि काममा लतारिने ।
पूजा व्रत, कामधन्दा गर्न मात्र जन्मिएका सारदा भाउजूका दिदीबहिनी सम्झिएर भित्रैदेखि आत सुकेर आयो । एक बोत्तल पानी पिएँ ।
अहँ ! सारदा भाउजू जस्तो अर्को नारी पात्रको म कल्पनालेनै तर्सिएँ । सारा नालनाता छरछिमेक ईष्टमित्रबाट रुचाइएकी सारदा भाउजू जस्तो अर्कोनारी पात्र मलाई स्वीकार हुँदैभएन ।

‘सारदा भाउजूको बहिनी म कुनै हालतमापनि बिबाह गर्दिनँ !’
मेरो अन्तर्मनले उद्घोष गर्यो। म आफ्नो निर्णयले भकभक पाकें –“मैले कस्तो केटी बिहे गर्ने त !’

म छटपटिदाँ, छटपटिँदै आमाका कुरा संझिएँ–‘कान्छा हाम्री सविताका साथीहरू छन् नि, विचार गर त !’

‘त्यत्तिका नानीहरू भए भइहाल्छ नि, कान्छा !’

अनि आफ्नै बहिनी सविता र उसका साथीहरू मेरो स्मृतिमा नाच्न थाले । सोझा असाध्यै सोझा हाम्रै सविता जस्ता ।
अति काँतर ।
आखिर ! आनीबानी मेल खाएर न साथी हुने हुन् । आफ्नै शरीर बोझ भएका अल्छिहरु ।
खा, नभनी नखाने ।
दुइटा मान्छेको अघि पर्न नसके ।
किताबका किराहरु ।
कि किताब, कि टि भी ।
व्याच्लरका छात्रा देशको प्रधानमन्त्री, गृहमन्त्री नचिन्ने । अतिरिक्त कृयाकलापमा शून्य ।
उस्स !
यस्ता केटी त झन जनै भिरेझै भिर्न पर्ने । सविताका साथीका कल्पनाले १०४ डिग्री तापक्रम बढ्यो ।

‘बाफ्रे बा, यस्ता केटी परेभने जिन्दगी बर्बाद !’

मन थामिनसक्नु भयो, फेरि आमाले भनेका कुराहरुनै सम्झनामा आए –
बाबू छिमेकीका छोरी बुहारी जत्तिकै केटी भए भइहाल्छ नि !

‘उनीहरू ठिकै त छन्,कस्ता केटी हेर्छस् तैले ?’

सविताका साथीहरूको कल्पनाले हलचल भएको मुटुको धड्कन साम्य पारेर छिमेकीको छोरीबुहारी कल्पनामा उतारेर हेरें ।
प्यार प्यार बोली रहने ।
के बोल्यो, कसो बोल्यो पत्तै नपाउने ।
एका बिहानैबाट अर्काको चियो चर्चा गर्ने ।
घरै उथलपुथल । गाउँ नै उथलपुथल ।
टिकी चुरामै प्रतिस्पर्धा भएका ।
लगाउने खाने नै जीवनको अन्तिम लक्ष्य भएकाहरु ।
पराक्रम नभएकाहरु ।
परिश्रम नगर्नेहरु ।
कर्तव्य बोध नभएकाहरु ।
कहिल्यै परिवर्तन हुन नसक्नेहरु ।
ती छिमेकी भाउजू बहिनीहरुमा मैले कुनै गुण, गुन देख्न किन सकिनं ?

‘के म नै दोषी हुँ कि, म भित्रको पुरुषपन दोषी हो ?’

सबै स्त्रीमा दोषमात्र देख्न थालेपछि मैले त्यो अध्यारो कोठामा राता, पहेंला झिल्का पो देख्न थालें । अनि मभित्रबाट आफै आवाज निस्कियो–
‘अहँ ! म बिबाह गर्दै गर्दिनँ !’

नारीजातिहरु कल्पनामा उतारेर उनीहरुको तुलना गर्दा गर्दै रातको आधाभन्दा बढी समय चिप्लिइसकेको थियो । मैलें यसरी कल्पनामा रात बिताउन थालेकोपनि महिनौ भइसकेको थियो ।
भावी श्रीमती यस्तै होस् भनेर मैलें निक्यौल गर्नै सकिनं र कुनै रात भसक्क निदाउनपनि सकिनं । सदाको रातभन्दा आज अलि बढी नै छट्पटी भयो । मनमा निदाउने छेक छन्द नै थिएन ।

‘निद्रा नलागे राम, राम,राम भन्नू पर्छ । गन्दागन्दै निदाइन्छ ।’
बाले भन्नू हुन्थ्यो ।
निद्रा लाग्ने अनेक साधना याद आयो । त्यसै अनुरुप गरें ।
राम, राम राम जपें ।
श्वास गनें ।
निद्रा पटक्कै लागेन । विभिन्न चरित्रका स्त्री आकृतिहरु मात्र कल्पनामा आइ
रहे । फलानो जत्तिकै भए त भै,गो नि, भनेर मनले कसैलाई पनि स्वीकारदैन ।
‘यो कस्तो अनौठो मन !’

अबका दुईचारदिन भित्रमा मैलें निर्णय लिनै परेको थियो, तर कस्तो केटी हो त बिहे गर्ने ?

वास्तवमा मेरो सोचाइ अर्थात् ईच्छा यो हो कि, मेरी भावी श्रीमती अर्को कोही जस्तो नभएर पृथक परिचयकी,
पृथक स्वभावकी,
परिश्रमी र विवेकशील,
लक्ष्य बोकेकी,
विद्यमान समाजका नारीभन्दा बेग्लै क्षमताकि होस् ।
हुन त,मैलें आफ्नो हैसियतको मुल्यांकन नगरि धेरै मूल्यमान्यताकि असल श्रीमती कल्पना गरेको थिएँ । म पनि अधिकांश विद्यमान समाजको पुरुष सरह एक सरकारी पद सम्हालेर जीविकोपार्जन गर्न सक्ने हैसियतको मान्छे थिएँ । मैले मेरो चाहाना अनुरुपकी केही फरक परिचयकी स्त्रीभेटुँला त !

रातजति छिप्पिदै गयो मेरो मनमा तर्क वितर्क पनि चलिरहेको थियो । घडी हेरें, सवाचार पो भएको रहेछ, म एकपटक झस्किएँ । निद्रा लाग्ने छेक छन्दनै थिएन । यसरी छट्पटीएर मैलें धेरै रात बिताइसकेको थिएँ । अब आज जसरी निदाउनै पर्छ , मैले आँखा बन्द गरें । बा,ले भनेझैं निद्राका सुत्रहरु प्रयोग गरें । कोल्टे फेरें । सोचाइको थकानले हुनसक्छ आँखा लट्ठिएझैं भए । मीठो हाइ आयो । मानसिक थकान बढ्दै गयो ।

घरमा एक प्रकारको उल्लासमय वातावरण –
आमा दङ्ग ।
बा छक्क ।
नातापाता फुरुङ्ग ।
आमालाई फोन उठाउनको हतारो ।
‘हो ! हो ! कान्छाले केटी मन परायो !’
‘यसै हप्ता कुरा छिनियो ।’
‘यसैको पीर थियो ।’
अब ढुक्क परान जाने भो ।
बालाई उस्तै चटारो थियो ।
‘अँ भन्या ! कान्छाको बिया हो ।’

‘हामी आत्तिएर काँ भो,त !’
‘दिन आउन पर्ने !’
‘दिन आ,पछि कस्ले टार्न सक्नु ! पच्चीस गते गरुन् न त, किनमेल गर्न पनि धौं हुन्छ भनेको केटीतिरबाट सत्रै गते गर्नु पर्ने रे ! यस्तो छोपाछोप पो छ त औ !’

‘उसैले हो मन परा, को !
‘हामीलाई हल्लायो यत्रो साल ! उसलाई राम्रो भए भइहाल्यो नि !’
एकातिर बा,का भलाकुसारी अर्कोतिर दिदीबहिनी फुरर्फुर गरिरहेका थिए –

‘हाम्रो कान्छाको बियाँ क्या !’
‘हाम्रो कान्छो ?
‘ईन्जिनियर !’
‘हो,त ! यही सोमबार !’
‘क्याम्पसका मिल्ने साथी बोलाउने हो ।’
‘तिमरु छुट्ने होइन है !’
‘लेडी ग्रुर्प कोही छुट्दैनन् ढुक्क हो ।’

सारदा भाउजूलाई थप कामको भार –
‘फुर्सद छैन त्यसैले फोन नउठेको ।’
‘हाम्रो बाबुको बिया छ ।’
‘कान्छो देवर बाबू के !’
‘हो नि ! उहाँ ईन्जिनियर हो !’
‘सबै जना आउनै पर्छ है ! हाम्रो घरको अन्तिम बिया हो ।’

‘अँ हो नि, भइसक्यो । कान्छी नानीलाई परारै बिरगंज दिएको ।’
‘जसरी पनि आउन पर्छ है, बाबुले बल्ल तल्ल बिाया गर्न मान्नु भा,छ !’
घरभरी खुसीको यस्तो उन्माद चलेको थियो । जहान सबै खुसियालीमा थिए । मैले एकपटक केटीसंग भेट गर्ने प्रस्ताव राखें । उताबाट पनि कुरा स्वीकार भयो । मसंगको भेटमा उनले बैबाहिक जीवनमा लागू हुनुपर्ने आफ्ना केही प्रस्तावहरु यसरी राखिन्–
‘बिबाह पछि मेरो ईच्छा, स्वतन्त्रता र लक्ष्यमा हस्तक्षेप गर्न पाइने छैन ।’

‘हेर्नुस जीवन जी ! म सादा जीवन उच्च विचार भन्ने सिद्धान्त पालन गर्ने मान्छे हुँ !’
‘बिहेको नाममा फजुल खर्च कत्ति गर्ने होइन ।’

‘वाइहात गफ । अनेकौं साथीहरूको संगत मलाई मन नपर्ने कुराहरु हुन् !’
‘घरमा मौलिक स्वतन्त्रताको साथै कडा अनुशासन र मान मर्यादा हुनुपर्छ ।’

उनले मनमा लागेका कुराहरु यसैगरि भन्दै थिईन् म आज्ञाकारी बिद्यार्थीझैं सुनिरहेको थिएँ ।

‘जीवन जी ! मेरो भागमा बाआमा पर्नु पर्छ । प्रत्येक दिन मलाई उहाँहरुको आशिर्वाद चाहिन्छ ।’
‘फेरि जेष्ठ नागरिक घरका गहना हुन् ।’
‘समाजका रत्न हुन् ।’
‘जीवित इतिहास हुन् ।’
‘यिनीहरूको सेवा र सम्मान गर्नुपर्छ भनेर मैलें यो पुस्तालाई बोध गराउनु छ ।’

जीवन जी ! अर्को भन्नै पर्ने कुरा के छ भने –
‘मैले मेरो सन्तानलाई स्कुले कोरा शिक्षाभन्दा सामाजिक, पारिवारिक, नैतिक र मानविय सेवा, आपसी मित्रता देश प्रेमको बारेमा सिकाउने छु । यस कुरामा मलाई तपाईंको साथ चाहिन्छ ।’

उनी गंभीर मुन्द्रामा भनिरहेकी थिईन् –
‘मेरो जीवन साथीले मेरो लागि कुनै भार उठाउन पर्ने छैन । मात्र, मेरो लक्ष्य र यात्रामा अवरोध नगरे पुग्छ !’
‘म मेरो परिवारको दायित्वले आफ्नै पल्ला लच्काउन चाहान्छु ।’

‘म मेरो परिवारलाई आँच आउन दिने छैन बरु मेरो प्रयास कुलकै नाम, समाजकै नाम र देशकै नाम उच्च राख्नमा हुनेछ !’

‘भन्नुस् जीवन जी ! म जस्तो घमण्डमा कर्तव्य बोध मिसिएको केटी तपाईंलाई मञ्जुर छ ?’

उनले आफ्ना कुराहरु फटाफट भनेर मेरो निर्णयको पर्खाइमा चुपचाप बसिन् ।
स्त्री स्वभाव,
चालचलन,
पहिरन केही मन नपर्ने मलाई, उनी एकाएक मन पर्दै गइन् । मलाई उनका सबै कुरा मन परे । उनको बोलिचालिको तरिका मन पर्यो ।
उनका कुनै प्रस्ताव पनि मलाई अस्वीकार लागेनन् । म त उनलाई मन पराएँछु । उनी मन परेकोमा म आफैसंग सोध्न थालें ।

‘यस्तो नारी मेरो जीवनमा कहाँबाट आइन् ?’
‘उनीसंगको बैबाहिक सम्बन्ध मलाई मंञ्जुर छ ।’

म मनैदेखि खुसीले हुँडलिदै गएँ । उनमा मलाई प्रभाव पार्ने बिचित्रको शक्ति थियो । साच्चिकै उनी र उनका सबै प्रस्ताव मलाई स्वीकार छ ।
हुन्छ ।
ठिक छ ।
ठिक छ ।
म उनलाई बिबाह गर्छु ।

ए बाबू !
ए जीवन ! जीवन !
कान्छा !
आमाले ढोका ढक्ढकाएर ठूल्ठूलो स्वरमा बोलाउदा पो म ब्यूझिएँ !

आमा बोलिरहनु भएको थियो –
‘हेर, हेर ! आज यो अझै सम्म सुतिराख्या रै,छ !’
‘ए बाबू ! आठ बजिसक्यो । अफिस जाँदैनस् ?’
आमा ढोका बाहिरबाटै बोल्दै जानुभयो –
‘उठ ,उठ ! न्वाई ध्वाई गरेर झट्ट आईज ! भान्जा बाबुले तेरोलागि केटीको कुरा ले,र आउनु भा,छ ।’

आमाका मधुर स्वरमा सुनिएका केटीको कुराले म चनाखो भएँ । त्यतिबेला मलाई निद्राले छर्लङ्ग छोड्यो । म ब्यूझिएँ र सपनाकी युवती सम्झन थालें ।

‘साच्चै यही त होइन मेरी भावी श्रीमती ?’

म आफु छक्क परेर सपना सम्झिरहेको थिएँ । फेरि ढोका ढक्ढकाएर भान्जा दाइ बोल्नु भयो–
‘जीवन उठ ! यसपटक तलाई केटी मन पर्छ !’
‘साच्चै तँलाई नै जुरेको जस्तो छ ।’

‘वई तेरै लागि जन्मेकी रै,छ कि !’
‘ऊ पनि कतै बिबाह गर्न नमानेर बसेकी रे !’
‘उहीसंग आज तेरो कुरा चलाउने हो ।’

‘ए फटाह !’
‘ढोका खोल भन्या ?’
‘छिटो आइज मलाई अफिस जान ढिला भइसक्यो !’

भान्जा दाइको आवाज मेरो कानमा ठोकिदा म खुसीले फुर्र फुर्र भएँ । मेरो ओठबाट सुसेली थामिएन । काधमा रुमाल र ब्रस बोकेर बाथरुम पसें । मेरो ओठबाट सुसेलीमा गित बनेर छुटी रह्यो । भावी श्रीमती ।
भावी श्रीमती ।

 

वि.सं.२०७८ जेठ २९ शनिवार ०६:४६ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...