३ असार, काठमाडौं । प्राकृतिक विपत्तिको सामना गर्न सरकारले कुनैपनि पूर्व तयारी नगरेर गैरजिम्मेवार बनेको भन्दै पाँच दलीय गठबन्धनले आपत्ति जनाएका छन् ।
मनसुन वर्षाको आरम्भमा नै देशका अधिकांश जिल्लाहरुमा बाढी र पहिरोको प्रकोपका कारण कतिपय मानिसहरुको ज्यान जानुका साथै अरबौ रुपैयाँ बराबरको भौतिक संरचना, अन्नबाली पशु चौपाया नष्ट भएको भन्दै गठबन्धनले बिज्ञप्ति जारी गरेको छ ।
‘बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी सरकारसँग माग गर्दछौं,’ गठबन्धनद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं ।’
यसप्रकारको प्राकृतिक विपत्तिका बेला गठबन्धनले उद्धार र राहतका काममा आ–आफ्ना ठाउँबाट योगदान गरी पीडित समुदायलाई सहयोग गर्न पनि सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुसँग अनुरोध गरेको छ ।

वि.सं.२०७८ असार ३ बिहीवार १४:५१ मा प्रकाशित






























