असार ३, काठमाडौं। यूरो २०२० को पत्रकार सम्मेलनमा क्रिष्टियानो रोनाल्डोले सर्वसाधारणलाई कोकाकोलाको सट्टा पानी पिउन गरेको इशारापछि कोकाकोला कम्पनीको बजार भाउ अर्बौँ डलरले घटेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार कोकाकोला शेयरको मूल्य ५६।१७ डलरबाट घटेर ५५।२२ डलरमा झरेको हो ।
कम्पनीको मार्केट भ्यालु २४२ बिलियन डलरबाट २३८ बिलियन डलरमा झरेको छ–अर्थात ४ बिलियन डलर घटेको छ । कोकाकोलाको शेयर मंगलबार बजार बन्द हुँदा ५५।४१ डलरमा कारोबार भएको थियो ।
युरो २०२० को प्रेस सम्मेलनमा सोमबार विश्व चर्चित फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दिक्क मानेजसरी दुईवटा कोकाकोलाको बोतल आफ्नो अगाडिबाट हटाएका थिए । समारोहको सबैभन्दा प्रमुख स्पन्सर कोकको बोतल हटाएर उनले पोर्चुगिज भाषामा ‘पानी’ भन्दै पानीको बोतल बीचमा राखेका थिए । यो घटना अहिले सबैतिर चर्चामा छ ।
यसरी युरोपियन च्याम्पियनसिपको प्रेस सम्मेलन सकिँदासम्म कोकाकोलाको सेयर मूल्य १।५ प्रतिशतले घटेको थियो । यसले कम्पनीको बजार भाउमा थप प्रभाव पार्दा चार अर्बसम्म गिरावट आएको बताइएको छ ।
द गार्जियनले गरेको समीक्षामा कोकाकोला कम्पनीले भनेको छ, ‘हरेकलाई आफ्नो रोजाइको पेय पदार्थ पिउने छुट छ ।’ यूरो २०२० का एक प्रवक्ताले भने, ‘खेलाडीहरुलाई सम्मेलनमा पानीसँग सँगै एउटा कोका कोला र अर्को कोका कोला जीरो सुगर दिइएको हुन्छ।’ एजेन्सीबाट
वि.सं.२०७८ असार ३ बिहीवार १७:१७ मा प्रकाशित






























