४ असार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद कृष्णसिंह परियारको निधन बाट काँग्रेसले असल नेता गुमाएको बताएका छन् ।
नेपाली कांग्रेसका नेता एवं २०४८ सालमा बाँकेबाट निर्वाचित सांसद कृष्णसिह परियारको निधनको खवरले निकै मर्माहित भएको बताउँदै सभापति देउवाले परिवारको निधनले पार्टीले एउटा असल नेता गुमाएको बताएका हुन् ।
लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित ६८ वर्षीय पूर्वसांसद परियारको आज बिहान ७ः३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।
विसं २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारले राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । दलित समुदायबाट नेपालमै पहिलो पटक जननिर्वाचित परियार बिपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध भई पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्ष गर्दा कारागारसमेत परेका थिए ।
कांग्रेसका पूर्वसभापति एवम पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर काम गरेका परियारलाई इमान्दार नेताका रुपमा लिने गरिन्थ्यो ।
वि.सं.२०७८ असार ४ शुक्रवार १९:०७ मा प्रकाशित






























