back
CTIZAN AD

कोरोना महामारीले गन्धर्वको दैनिकी अस्तव्यस्त बन्दै

वि.सं.२०७८ असार ३० बुधवार

705 

shares

३० असार, गलेश्वर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणका कारण गरिखाने वर्गको दैनिकी अस्तव्यस्त बन्दै जान थालेको छ ।

आफ्नै घर गाउँमा बेरोजगार भइसकेका विपन्न र मजदूरलाई स्थानीय तह र विभिन्न सङ्घ संस्थाले सहयोग गर्दै आएका भए पनि सारङ्गी बोकेर गाउँशहर डुली गीत गाउँदै सुखदुःख र घटना दुर्घटनाका खबर सुनाउने घुमन्ते गन्धर्वको पेशा त सङ्कटमा परेको छ नै उनीहरुको खाने गाँस समेत खोसिएको छ ।

म्याग्दीको बेनी नगरपालिका– २ फाँपरखेतबाट बसाइँसरी बागलुङको बलेवा गएर पुनः आफ्नै जन्मथलोमा फर्र्किएका सोमबहादुर गन्धर्वले विभिन्न जिल्लाका गाउँबस्तीमा पुगी सारङ्गी रेट्दै गीत गाएर त्यसबाट कमाएको पैसाले साँझबिहानको गाँस टार्ने गर्थे ।

तर, नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण निषेधाज्ञा जारी भएपछि उनकै दैनिकी असहज बन्दै गएको छ । २०३० सालमा २० वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका छोराछोरी नभएकाले अरुले दिएकै भरमा आफ्नो गुजारा चलेको उनले बताए ।

देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशक अघिकै जस्तो भएको बताउँदै गन्धर्वले खाने गाँस र बस्ने बासको अभावकै कारण कतिपय गन्धर्व आफ्नो पुख्र्यौली पेशाबाट विस्थापित भई वैकल्पिक पेशा अपनाएको बताए ।

कुनै दिन मुम्बई गोरखपुर र कोलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारीलाई दुःख दिएको, विदेशमा युद्धमा लड्दालड्दै वीरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्वहरु कोरोना सङ्क्रमण शुरु हुनुभन्दा अघि फाट्टफुट्ट देखिने गरेकोमा कोरोनाका कारण हिजोआज देखिन छोडेका छन् ।

देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मङ्गला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायतका भाखामा खबर दिँदै घुम्ने गन्धर्व अहिले गरिबीकै कारण पेशा परिवर्तन गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।

“सारङगीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे”, बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले भने, “गीत सङ्गीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गन्धर्वका सारङ्गीको धुन नसुनेको धेरै भयो ।”

सूचना र सञ्चारको पहुचसँगै ग्रामीण क्षेत्रमासमेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्वले पछिल्लो समय विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीतसमेत गाउन थालेका थिए ।

वि.सं.२०७८ असार ३० बुधवार १६:५१ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...