३१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २६७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८,२५६ पिसीआर र ४,५१२ ऐन्टिजेन गरी १२,७६८ वटा नमुना परीक्षणमा २,६७६ जना संक्रमित थपिएका हुन् । बुधवारको तुलनामा बिहीवार संक्रमितको संख्या केही घटेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा ८०, ललितपुरमा १३४ जना र काठमाडौंमा ३३९ जना गरी उपत्यकामा आज ५५३ जना संक्रमित थपिएका छन् । बुधवारको तुलनामा उपत्यकामा आज संक्रमितको संख्यामा वृद्दि भएको छ ।
नेपालमा हालसम्म ३४ लाख ४६ हजार ५८६ पिसीआर र २ लाख ५२ हजार ५४ विधिबाट गरीएको नमुना परीक्षणमा ७ लाख ९ हजार ४०७ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १७५७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १७५७ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ जना निको भइसकेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३३ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,४६३ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ । ब्ुधवारको तुलनामा बिहीवार मृत्यु हुनेको संख्यामा बृद्दि भएको छ ।
मन्त्रालयका अनुसार नेपालमा हाल २६ हजार ६३९ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २४ हजार २५ र संस्थागत आइसोलेशनमा २,६१४ जना रहेका छन् ।
त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६०२ र भेन्टिलेटरमा १७१ जनाको उपचार भइरहेको छ ।
वि.सं.२०७८ असार ३१ बिहीवार १६:५६ मा प्रकाशित




























