१
धरहरादेखि देखिने दृश्य केही झलमल साकार हुन्छ !
सगरमाथादेखिको दृश्य त झन क्षितिजको पार हुन्छ !
उचाइमा पुगेर सब बिर्सी रमाउनेहरूलाई,
धरहरा भन्छ,सुन्दर धरातलबिना मेरो के सार हुन्छ ?
२
कोही आउँछन् मलाई नयाँ कार देखाउन !
कोही आउँछन् ब्यापारको आकार देखाउन !
तिमी मात्रै आउँछौ किन प्यार देखाउन ?
सार बुझ्दा आएन मलाई स्वीकार देखाउन !
३
बाँकी नराखी खुलस्त भै खुल्ने भएछ दिल !
ठगिएर प्रेम पीडामै डुल्ने भएछ दिल !
हूलका बीच एक्लोपनले रुनेहरूका,
आँसु छोप्न रम्ने खेतीमा भुल्ने भएछ दिल !
४
तिमी भन्थ्यौ,जाग्नुपर्छ क्रान्तिको मूल भएर !
तिम्रा नाराहरू चम्किन्थे ठूला तुल भएर !
बाठो कागको इतिहास रचेका रैछौ नेता,
क्या चिनायौ आफैलाई जन्ताको भूल भएर !
वि.सं.२०७८ साउन २ शनिवार ०६:४७ मा प्रकाशित






























