३ साउन, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष ७७/७८ मा कामना सेवा विकास बैंकको खुद नाफा ४८४ प्रतिशत अर्थात ५.८४ गुणाले बढेको छ । आर्थिक वर्ष ७७/७८ को असार मसान्तसम्ममा बैंकले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ यस्तो नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी २९ दशमलव ९२ प्रतिशतले बढेर १ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
२ अर्ब ६५ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १ अर्ब २९ करोड रहेको छ । त्यसैगरी समीक्षा अवधिमा बैंकको जगेडा कोष ९४.२० प्रतिशत, निक्षेप ३९.३२ प्रतिशत र कर्जा ४९.७७ प्रतिशत बढेको छ । बैंकको खराब करह भने १.७९ प्रतिशतबाट घटेर १.५ प्रतिशत कायम भएको छ ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ १६ पैसाबाट बढेर २६ रुपैयाँ ४० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ पनि १२० रुपैयाँ ४८ पैसाबाट बढेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ ।
वि.सं.२०७८ साउन ३ आइतवार १२:५८ मा प्रकाशित





























