१० साउन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको जनाएकाे छ ।
कम्पनीले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको जनाएको हो ।
कम्पनीले ल्याएको नौलो केटाकेटी जीवन बीमा योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समुहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम रु. १,००,०००/- देखि आफनो आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो सावधिक जीवन बीमालेखमा १ वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपश्चात वा ७ वर्ष उमेर पूरा भएपश्चात (जुन पछि आउँछ) मात्र बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ । त्यसैगरि बीमितको उमेर ८, ९ वर्ष भएमा १० वर्ष पुरा भएपछि र बीमितको उमेर १०, ११ वर्ष भएमा बीमाको बार्षिकोत्सव मितिदेखि बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुने छ ।
बीमालेख परिपक्व हुने अवधिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ प्रदान हुनेछ । कथम कदाचित बीमाको जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएको खण्डमा सम्पूर्ण बीमा शुल्क (ऐच्छिक बीमा शुल्क बाहेक) प्रस्तावकलाई भुक्तान गरिनेछ । त्यसैगरी बीमा जोखिम प्रारम्भ पश्चात बीमितको मृत्यु भएमा तत्काल बीमाङ्क रकमको २५ प्रतिशत भुक्तान दिइनेछ भने बाँकी ७५ प्रतिशत बीमाङ्क रकम र आर्जित बोनस रकम व्याज सहित एकमुष्ठ बीमा अवधि समाप्तीमा प्रस्तावकलाई भुक्तान गरिनेछ ।
वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गरी जोखिम प्रारम्भ भएको बीमालेखमा ३ वर्ष पूरा भए पश्चात समर्पण मूल्य प्राप्त हुनेछ भने समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
यदि बीमाशुल्क छुट सुविधा लिएको छ भने यस बीमालेखले प्रस्तावकको जोखिम समेत बहन गर्ने छ । बीमालेख चालु रही बीमा अवधि भित्र प्रस्तावकको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता मा अपाङ्ग अशक्त सुविधा उपलब्ध गराइने छ ।
मासिक आय सुविधा लिएको अवस्थामा बीमालेख प्रारम्भ भएपश्चात बीमा प्रस्तावको मृत्यु भएमा, मृत्यु भएको अर्को महिनादेखि मासिक आय सुविधा बीमाङ्कको १ प्रतिशत रकम मासिक रुपमा केटाकेटी १८ वर्ष वा बीमा अवधि समाप्ति (जुन अगाडि आउँछ) सम्म कम्पनीले उपलब्ध गराउने छ । त्यसैगरी बच्चाको जोखिम कभर सुविधा लिएका बीमितको हकमा बीमा प्रारम्भ भएको २ वर्ष पश्चात नै बच्चाको जोखिम बहन गर्न सकिनेछ ।
कम्पनीले समय सापेक्ष प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको कम्पनीले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ । कम्पनीकोे प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिने पनि जनाइएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।
वि.सं.२०७८ साउन १० आइतवार १५:१३ मा प्रकाशित






























