१४ साउन, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गतेबाट बिक्री खुल्ला गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियो । बैंकले निष्काशन गरेको कूल कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्कासन गरिने कुल १२ लाख कित्तामध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार कत्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।
यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म आवेदन दिन सक्नेछन । उक्त ऋणपत्रको अवधि १० वर्ष हुनेछ । यस ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
यस ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सक्नेछन् ।
वि.सं.२०७८ साउन १४ बिहीवार १४:२५ मा प्रकाशित


























