२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले एमसीसी नेपालबाट खारेज गराउनका लागि जनताबीच नै जागरण ल्याउनुपर्नेमा जोड दिएका छन् ।
एमसीसी खारेजी अभियान संघर्ष समिति निमार्णाथ एमसीसी खारेज अभियान नेपालद्वारा शुक्रवार आयोजित कार्यक्रम तथा समाजवादी ज्ञान केन्द्रद्वारा शनिबार आयोजित कार्यक्रममा नेता पोखरेलले एमसीसीका नकरात्मक असरबारे जनतामा जागरण ल्याएर आन्दोलित गराउन सकेमा मात्र एमसीसी खारेजीको आन्दोलन सफल हुनेमा जोड दिएका हुन् ।
एमसीसीको छलफल बढी मात्रामा बौद्धिकहरुको बीचमा मात्रै रहेको र अझै पनि आम जनताको विचमा पुग्न नसकेको स्वीकार्दै उनले संगठित ढंगले अघि बढ्न उनले आग्रह गरेका छन ।
एमसीसीका विभिन्न १२ आयामलाई छलफलमा ल्याउने गरेका, एमाले माओवादी केन्द्र विभाजन पूर्वको सिंगो नेकपाको स्थायी समितिमा एक्लै नोटअफ डिसेन्ट लेखेर आन्दोलनका लागि विभिन्न जिल्लामा जागरण अभियान चलाएका नेता पोखरेलले यस्ता प्रकारका छलफल र गतिविधिले मात्र पनि राज्य व्यवस्थामा तरंग ल्याएको बताएका छन् ।
एमसीसी खारेज अभियान नेपालद्वारा संयुक्त संघर्ष समिति निर्माणार्थ भएको बृहद् भेलालाई सम्बोधन गर्दै उनले एकताबद्ध भएर जुट्न अनिवार्य भएको बताएका थिए भने समाजवादी ज्ञान केन्द्रद्वारा शनिबार आयोजित कार्यक्रममा एमसीसीको पृष्ठभूमिदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरुको विश्लेषण गरेका थिए ।
नारायण शर्माको अध्यक्षतामा भएको एमसीसी खारेज अभियानको कार्यक्रममा नेपाली काँग्रेस (विपी)का नेता पूर्वमन्त्री शुसिलमान शेरचन देखि विभिन्न कम्युनष्टि तथा बामपन्थि समूह तथा संघसंस्थाका नेता तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने समाजवादी ज्ञान केन्द्रद्वारा आयोजित भर्चुअल कार्यक्रममा आजाद खड्काको सभापतित्व र सुनिता गौतमको संचालन रहेको थियो । कार्यक्रममा नेता पोखरेल प्रमुख वक्ता रहेका थिए भने विशिष्ठ वक्ता एमसीसी खारेज अभियानका संयोजक नारायण शर्मा रहेका थिए ।
वि.सं.२०७८ साउन २३ शनिवार १९:५१ मा प्रकाशित






























